सुर्खेत- सुर्खेतको एक विद्यालयले पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ। १८ महिने पशु विज्ञान विषय अध्यापन गराइरहेको वीरेन्द्रनगर-११ धुलियाविटको शिव माध्यमिक विद्यालयले विद्यार्थीहरुको शिक्षण सिकाईमा सहजता ल्याउन क्लिनिक सञ्चालन गरेको हो।
विद्यार्थीको सिकाईसँगै गाउँका कृषकलाई सस्तो र सूलभ सेवा दिनका लागि पशु स्वास्थ्य क्लिनिक संचालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले जानकारी दिए। क्लिनिकबाट कृषकहरुलाई पशु स्वास्थ्यसम्बन्धि निशुल्क प्राविधिक सल्लाह, पशुहरुको स्वास्थ्य परीक्षण, औषधि, कृत्रिम गर्भाधारणलगायतका सेवा दिने जनाएको छ।
‘विद्यार्थीहरुको पढाईमा सहयोग पुग्ने र अभिभाकहरुलाई पनि सेवा दिने उद्देश्यले पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइएको हो, विद्यालयका प्रधानाध्यापक पौडेलले भने, ‘हामीले यसका लागि पशु डाक्टरको पनि व्यवस्था गरेका छौँ।
अब विद्यालयले छिट्टै गाई फर्मलगायतका पशुपालन फर्महरु संचालनको तयारीमा लागेको उनले बताए। पशुविज्ञान विषय पढिरहेका विद्यार्थीहरुलाई विद्यालयले ३ प्रतिशत ऋण दिएर पशुपालन व्यवसायमा लगाउने समेत विद्यालयको योजना रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४