हरिदेवी कोइराला नेपाली लोकसंगीत तथा साहित्य क्षेत्रकी एक चम्किलो तारा हुन्। आठसय भन्दा बढी गीत गाइसकेकी, ८० भन्दा बढी एल्बम निकालिसकेकी र २५० भन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी कोइराला विगत पाँच दशकदेखि निरन्तर गायन, लेखन र संस्कृतिको संरक्षणमा समर्पित छिन्। ढल्किदो उमेरमा पनि उनी बेफुर्सद छिन्, स्टेज उक्लिरहेकी छिन्।
वि.सं. २०१५ साल चैत १७ गते पोखराको फेवाताल किनारमा रहेको बैदाम (हालको लेकसाइड) मा जन्मिएकी हरिदेवीले आफ्नो बाल्यकाल रमाइलो र सांगीतिक वातावरणमा बिताइन्।
तालवारा स्कुलमा पढ्ने बेलादेखि नै उनी तालमा पौडी खेल्ने, खेतालाहरूले गाएको लोकगीत सुन्ने र कविता वाचन गर्थिन्। संयुक्त परिवारमा हुर्केकी हरिदेवीको बाल्यकालले नै उनीभित्रको सिर्जनात्मकता र सांगीतिक चेतना निर्माण गर्यो।
सानैदेखि कविता लेख्ने र लयमा गाउने बानीले उनको जीवनको बाटो तय गर्यो। स्कुलका गुरुहरूबाट प्रेरणा पाउँदै, खेतालाहरूको मौलिक भाकाबाट प्रभाव लिँदै उनले लेखन र गायनलाई जीवनको अभिन्न अङ्ग बनाइन्। त्यो समय समाजले छोरीहरूलाई खुलेर आफ्नो इच्छाअनुसार अघि बढ्न सजिलो वातावरण दिँदैनथ्यो।
तर हरिदेवीलाई श्रीमानको साथ र हौसला मिल्यो। विवाहपछि उनका लागि गीत गाउने र लेख्ने बाटो खुलेको हो। श्रीमानको साथले गर्दा उनले पोखरामै बसेर सांस्कृतिक क्षेत्रमा क्रियाशील हुन सकिन्। हरिदेवीका गीतहरूमा पर्व, जात्रा, महिला अधिकार, समाजका विकृति-विसङ्गति, प्राकृतिक प्रकोप र जनचेतनाका सन्देशहरू समेटिएका छन्। उनले गणतन्त्र, भूकम्प, कोरोना, राजदरबार हत्याकाण्ड, चेलीबेटी बेचबिखन जस्ता विषयवस्तुहरूलाई गीतमार्फत् अभिव्यक्त गरेकी छन्।
०४५ सालदेखि तीज गीत गाउन थालेकी हरिदेवी तीजलाई शुद्ध, मौलिक र सामाजिक चेतनासँग जोडिएको पर्वका रूपमा हेर्छिन्। उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :
यति धेरै गीतहरु गाउनु भएको छ तर हजुरको बाल्यकाल र पारिवारिक पृष्ठभूमि कस्तो थियो ?
बाल्य अवस्थाको कुरा गर्दा म जन्मेको ठाउँ या गाउँ भनौँ, अहिले लेकसाइड भनिन्छ। त्यतिखेर वैदाम भनिन्थ्यो-वैदाम वा लेकसाइड। फेवातालको किनारमै हो त्यो ठाउँ। जहाँ म त्यही फेवातालको पानी पिएरै हुर्केकी हुँ। अत्यन्तै रमाइलो थियो वाल्यकाल।
पोखरा नै रमाइलो, त्यसमा पनि लेकसाइड झनै रमाइलो। अत्यन्तै रमाइलोसँग बित्यो। किनभने, पढ्ने स्कुल नजिकै तालवारा स्कुल थियो। स्कुल पढ्दा एक बजेको छुट्टीमा तालमा गएर पौडन्थ्यौँ। हाम्रो ठूलो परिवार थियो, संयुक्त परिवार थियो। घरमा पनि अत्यन्तै रमाइलो वातावरण थियो।
३०-३५ जनाकै जहान परिवार थियो। पानीको कुरा गर्दा घरमा पानीको अभाव थियो, धारा थिएनन्। फेवातालको पानी पिएर हुर्कनुपर्ने अवस्था थियो। त्योबेला फेवातालमा आमासँग पानी लिन जान्थें। आफू बुझ्ने भएपछि त्यही पौडी खेल्ने, लुगा धुने, नुहाउने गर्दथ्यौं। यसरी फेवातालको एउटा छालसँगै बित्यो बाल्यकाल।
गीत संगीतमा रुचि बढाउँदै गएकाबेला समाज परिवारबाट कत्तिको सहयोग समर्थन पाउनुभयो ?
मेरो रुचि भनेको साहित्यिक र सांगीतिक दुई क्षेत्रमा हो। मैंले सानैदेखि कविताहरू लेख्ने, गीतहरू गाउने गर्दथें। स्कुलमा कविता लेखेर वा लयमा गाएर धेरै नै पुरस्कारहरू पाएकी थिएँ। त्यसैकै प्रेरणा पनि भन्नुपर्छ। र आफू जन्मेको ठाउँको सुन्दरताले पनि धेरै प्रेरणा मिल्यो।
वैदामको बारीमा खेतालाहरूले गुनगुनाएको गीत गाउने, असारमा खाजा लिएर जाँदा उहाँहरूले धेरै गीत गाउनुहुन्थ्यो। त्यसले पनि धेरै कुरा सिकायो। अनि स्कूलमा पनि कविता वाचनका कार्यक्रम भइराख्थ्यो।
गुरुहरूले कविता भन्नलाई एकदमै प्रेरित गर्नुहुन्थ्यो। सानैबाट कविता लेख्दालेख्दै, गाउँदागाउँदै यात्रा तय भयो। गुरुहरूको स्याबासी र पाएको पुरस्कारले गाउन र लेख्न प्रेरित गर्यो। मैले धेरै कविताहरू गीतीलयमा गाउँथे।
तारादेवीको, अरुणा लामाको लय पक्रिएर गाउने गर्थें। अनि खेतालाहरूले गाएका लोकगीतका भाकाहरू, भजन, चुड्काहरूले पनि धेरै कुरा सिकाउथ्यो। सुन्दै, हुर्कंदै गरेकाले गाउन र लेख्नमा म प्रेरित भएँ। र त्यही प्रेरणाको उपज नै हो अहिलेको स्थानमा पुग्नुमा।
१३ वटा जति कृति कविताका आइसकेका छन्। गीतहरू पनि म आफ्नै लय, शब्द, गायनमा करिब करिब आठ–नौ सय गीतहरू गाइसकेकी छु। र मलाई मेरो रूचि भनेको परम्परागत मौलिक कुराहरूलाई संरक्षण गर्नु, सम्बर्धन गर्नु हो। यसमै आनन्द आउँछ।
वास्तवमा गीतहरूले सबै जीवनका आयामहरूलाई जोड्नुपर्छ। चाहे पर्व हुन्, चाहे जात्रा हुन्, चाहे मेला पर्व हुन्, चाहे बारमासी गीत हुन्। जीवनसँग जोडिएका हरेक कुराहरूलाई गीतमा उतार्नुपर्छ भन्ने मलाई लाग्छ।
त्यसैले मैले तीजका सन्दर्भमा हिजोका दिनमा हाम्रा हजुरआमाहरूले गाएकादेखि अहिले जनचेतनामूलकसम्मलाई सम्हालेर, सबै पक्षहरूलाई अँगालेर ०४५ सालदेखि निरन्तर गाउँदै आएकी छु। र मेरा धेरै गीतहरु घटनामा आधारित छन्।
राजदरबारको हत्याकाण्ड होस् चाहे भूकम्प, कोरोना होस्, गणतन्त्रका कुरा हुन् सबै सन्दर्भहरुलाई समेटेको छु। समाजका विकृति विसंगती लिएर महिला दिदीबहिनीहरूको वेदना, बेचिएका चेली, प्राकृतिक पर्यावरणका कुराहरू, आमाका बिलौनाहरू समेटेको छु। विदेशिएका पीडाहरू पनि तीजका गीतमा ल्याउने गरेकी छु।
लामो यात्रा तय गरिसक्नु भएको छ, यस बीचमा के कस्ता चुनौतिहरुको सामना गर्नुभयो ?
अवश्य पनि नेपाली समाजमा छोरीलाई खुलेर बोल्ने छुट अझै पनि छैन्। विगतमा त झनै जटिलताहरु थिए। आफ्नो रूचि अनुसारको काममा बन्देजजस्दै थियो। अहिलेको समयमा छुट्टै किसिमको आधुनिक जमाना आएपनि, ठुला कुरा गरेपनि घरपरिवारमा छोरीलाई बाहिर जानु हुँदैन, यसो गर्नु हुँदैन, उसो गर्नु हुँदैन भन्ने किसिमको जुन व्यवहार हुन्छ।
विगतमा त छोरीचेलीले सकभर बाहिर नहिँडे हुन्थ्यो, नबोल्दिए हुन्थ्यो भन्ने सोच थियो। लेखेर वा गाएर के हुन्छ भन्ने खालको मानसिकता थियो। तर आफ्नो इच्छा, रूचि वा भित्रको इच्छा शक्ति भयो भने आउन पनि सकिँदो रहेछ भन्ने लाग्छ। मलाई मेरो घरको वातावरणमा एकदमै सजिलो पनि भयो। श्रीमानले गाउनुपर्छ, लेख्नुपर्छ, आफ्नो कला देखाउनुपर्छ भन्ने किसिमको वातावरण बनाइदिनुहुन्थ्यो। तरपनि थुप्रै समस्या र संघर्षहरूको सामना त गर्नु पर्याे।
पुरानै भाकाको प्रवद्र्धन गर्दै आइरहनुभएको छ, त्यस्तै गाउँदै आउनु भएको छ। तर अहिलेका तीजका मौलिकता हराएजस्तो लाग्दैन ?
यसबारे मैंले अगाडि पनि भनिसकें। मैले सबै प्रकारका गीतहरू गाएकी छु। संस्कृतिसँग जोडिएका मात्र होइन रतौली, जेठे, असारे, भदौरे गीतहरू, भजनहरू, बाल गीतहरू गाएको छु। आफ्नो रचनामा विभिन्न आधुनिक गीतहरू रेकर्ड भएका छन्, गजल रेकर्ड भएका छन्।
तीजको गीत भनेको पर्वमूलक हो। पर्वमूलक गीतहरु चाडपर्वमा विशेष अवधिमा गाइन्छ। यसमा आफ्नै मौलिक लय हुन्छ, मौलिक भाका हुन्छ। विषयवस्तु पनि फरक खालका हुन्छन्।
छोरीचेलीहरुले आफ्नो मनमा लागेका कुराहरू, विरह, वेदनादेखि लिएर घरपरिवार, समाज, राष्ट्रका कुराहरू साथै चेतना हुने खालका विषयहरु गीतमा उठाउनुपर्छ। सशक्तिकरणका आवाज उठाउनुपर्छ। यसमा विरह वा व्यथा धेरै कुराहरू समेटिएका हुन्छन्।
बाबाआमा, दाईभाइ, माया, सम्झना, साथीसंगी, आफू जन्मेको ठाउँ पानीपधेंरो आदी प्रसंगहरू गीतमा आउनुपर्छ। धार्मिक पाटो धेरै नै आइरहेको छ। सामाजिक, धार्मिक, विधि विधान, ब्रत विधि, पूजाआजाका कुराहरु पनि आउनुपर्छ।
हुन त शुद्ध एवम पवित्र मौलिक पर्व केही वर्षयता बिस्तारै बिस्तारै धमिलिँदै गएको छ। सुन्न पनि नसकिने खालका शब्दहरु बजारमा आउँदा नराम्रो लाग्छ। यस्ता गीतहरु सुनेर हाम्रा, भाइ, छोराछोरीहरूले, नातिनातिनाहरूले के सिक्लान भन्ने कुरा सोच्नसक्नुपर्छ। यो एउटा चिन्तनको विषय पनि हो।
हाम्रो आफ्नै नेपाली संस्कृति, कला, भाषा छ। बहुभाषा र बहुसंस्कृतिको समाजमा हामी बसेका छौं। यो देश सुन्दर फुलबारी पनि हो। सबै प्रकारका जातजातिका आ-आफ्ना पहिचान छन्। आ-आफ्ना संस्कृति छन्, सबैको साझा सद्भाव बोकेको तीजमार्फत हामीले अझ धेरै खुसी हुनुपर्छ।
यस्तो मौलिक खालको पहिचानयुक्त तीज र गाइने गीत संगीतहरूले मर्म एवम महत्व नै अर्कै मार्गतिर परिवर्तन हुने त होइन भन्ने चिन्ता समेत जन्माउछ। भोलिको पुस्ताले तीज भनेको यस्तै रहेछ, आफूलाई जे मन लाग्यो त्यही गर्ने, छाडा गीतहरू गाउँदा चिन्ताको विषय बनेको छ।
यस्ता पर्व, चाड, जात्रा, मेला, हाम्रा यी आ-आफ्ना पहिचानयुक्त, रैथाने भाकाहरू,सबै मौलिक मान्यताहरूका सन्दर्भमा एकदमै विचार पुर्याउनुपर्छ। अहिले संस्कृतिमाथि विचलन या प्रहार हुनु दुःखद पक्ष हो। तीजले एउटा शुद्ध महत्व बोकोस् भन्ने मेरो धारणा छ।
तपाइँका हजार गीतहरूको आर्काइभ तयार पारेर हजुरले आत्मकथा लेख्दै हुनुहुन्छ रे, यो कहिलेसम्म तयार हुन्छ ?
त्यो आत्मकथा एउटा सोच मात्रै हो। बिस्तारै त्यतापट्टि पनि केही सोच्नुपर्ला जस्तो लागेको छ।
जुन सोच तपाईले बनाउनु भएको छ। त्यसले नयाँ पुस्तामा एक किसिमको सहयोग र कोशेढुंगा नै बन्छ जस्तो लाग्दैन ?
हो, अवश्य पनि। कसैको पनि बितेका कुराहरूले आउने पुस्ताहरूलाई सिकाउनुपर्छ। त्यहाँबाट सिक्ने कुराहरू धेरै हुन्छन्। यो मेरो मात्रै होइन हरेक व्यक्तिबाट सिक्ने कुराहरु हुन्छन्। त्यसले भोलि त्यहाँका सकारात्मक र नकारात्मक कुराहरूले केही सिक्न अवश्य पनि सकिन्छ। पछिल्लो पुस्ताले सिक्छ।
लय, शब्द र गायनमध्ये हजुरलाई कुन चाँही सजिलो लाग्छ ?
मलाई त गाउन धेरै मन लाग्छ । तर कहिलेकाहीं एक किसिमको सिर्जना आउँछ, कुनै शब्दले भावअनुसारको लय सिर्जना गराउँछ। लोकगीतमा हिजो संकलन गरेर ल्याएका गीतहरू पनि थुप्रै छन्। अहिले त संकलनभन्दा पनि सिर्जना गर्ने पनि एउटा बाटो छ।
विकासले फड्को मारेको छ। गाउँ, सहर, एकैजस्तो भएका छन्। एउटै मोबाइलमा संसार आँटेको छ। तथापी मलाई गीत गाउन असाध्यै मनलाग्छ, अझै रहर लाग्छ। तथापी, संगीतका तीनवटै पाटोमा म रमाउन चाहन्छु।
अहिलेको पुस्तामा संगीतप्रतिको आकर्षण कस्तो छ ?
लोकगीत भनौं, या लोक संगीत भनौं या नेपाली संगीत भनौं अहिलेको पुस्ताहरूले धेरै उत्साहित भएको पाउँछु। विदेशमा रहेका नेपालीहरू हुन् या स्वदेशमै संगीतप्रति झुकाव रहेको पाइन्छ। विद्यालयहरूमा पनि विद्यार्थीहरूलाई प्रशिक्षण दिने गरिन्छ। संगीत पाठशालहरू खुल्नेक्रममा छन्।
र युवा पुस्तामा संगीतप्रति अत्यन्तै आकर्षण छ। संगीतमा रुचि राख्ने नयाँ पुस्ताहरुलाई पुराना पुराना गीतहरू मनपर्छ। पुरानाप्रति एकखालको जिज्ञासा पनि हुन्छ। तसर्थ पुरानो र नयाँ पुस्ता संगीतमा जोडिनु पनि पर्छ। अनि बल्ल त्यो हिजोको इतिहास आजको पुस्ताले थाहा पाउँछ।
हिजोको इतिहासमा टेकेर वर्तमानको निर्माण हुन्छ। तसर्थ अघिल्लो पुस्ता र पछिल्लो पुस्ता, अघिल्लो पुस्ताको प्रेरणा, उनीहरूको कामहरू, अनुकरणीय प्रयासहरु पछिल्लो पुस्ताले लियो भने बल्ल संगीत मजबुत हुन्छजस्तो लाग्छ।
हिजो हाम्रा हजुरआमाहरूले गाएका गीतहरू हामीले संकलन गरेर ल्यायौँ। त्यस्तै हामीले गाएका गीतहरु पछिल्लो पुस्तालाई त्यतिकै महत्वपूर्ण हुनसक्छन्। त्यसैले युवा पुस्ताको आकर्षण देख्दा मलाई असाध्यै खुसी लाग्छ।
विवाहपछि संगीत यात्रामा तपाईंलाई केही असहज भयो कि ?
एसएलसी दिएपछि मेरो बिबाह भएको हो। त्यतिखेर म कविता लेख्थें। आठ कक्षादेखि नै लेख्थे र गाउँथे पनि। तर घरमा खुलेर भन्न सक्दिनथिए। साहित्यिकलगायका कार्यक्रममा लुकि लुकि जान्थेँ। स्कुल जानुछ भनेर कार्यक्रममा पुग्थें। पछि विवाहपछि श्रीमानको पूर्ण साथ पाए। त्यसले केही सहज गरायो। काम गर्न केही अफ्ठयारो भएन्। हामी दुई जनाले यही क्षेत्रमा केही न केही गर्ने प्रयास गर्यौं।
त्यसोभए संगीत क्षेत्रमा तपाईं पूर्ण सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट हुने काम त केही पनि गरेको छैन। आफूले सोचे अनुसार गर्न सकेकै छैन। धेरै समय पोखरामै बसेर काम गर्छु। घरपरिवार सबैतिर महिलाको भूमिका धेरै हुन्छ। तर अब केही गरौँ भन्ने किसिमले काम गरिरहेको छु। धेरै संघ संस्थामा भएकाले व्यस्त पनि छु।
सकभर समय निकालेर आफूले गर्नसक्ने, विशेष गरेर आफ्नो कलालाई, गायनलाई संरक्षण वा सम्वद्र्धन गर्ने हिसाबले काम गर्ने सोचमा छु। कुनै नाफा नोक्सान नहेरी आफ्नो पूरै लगानी यही सांस्कृतिक क्षेत्रलाई अर्पण गर्ने सोचमा छु। नाफाघाटा नहेरी कला र यसको संरक्षणका लागि भनेर काम गर्दै आएकी छु। तर पूर्ण सन्तुष्ट हुन सकेको छैन्।
विशेषगरी नयाँ पुस्ता र महिला सर्जकहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
महिलाहरू अर्थात छोरीहरूलाई समाजले हेर्ने दृष्टिकोण साँघुरो नै छ। यही साँघुरो दायराबाट महिला वा छोरीहरूलाई आफ्नो रुचिअनुसार काम गर्न सकिरहेका छैनन्। त्यसैले सबै परिवारले यस्ता समस्याहरुमा प्रेरणा दिनुपर्छ। एक जना छोरीको रुचि अनुसार प्रेरित पनि गर्नुपर्छ।
अझैपनि गीत संगीतमा लागेर के हुन्छ भने सोच छ। हुनपनि गीत संगीतमा लागेर हामी धेरैले गुजारा चलाउन नसकेको अवस्था छ। राज्यले पनि आम कलाकारलाई सम्बोधन गर्न नसकेको स्थिति छ। तसर्थ यो क्षेत्रमा प्राप्ती केही पनि छैन होला। औँलामा गणना हुने कलाकारहरूले कमाउनुभएको होला तर सबैको अवस्था उस्तै छैन्। यो क्षेत्र खर्चिलो पनि छ र पहुँच पुर्याउन नसक्दा समस्या हुने गरेको छ।
संगीतमै दिनरात विताएका दूरदराजका कलाकारहरू, भाइबहिनीहरू कति मरिरहेका छन्, कस्ता-कस्ता कलाकारहरू त्यसै मरेका छन्। त्यसै पलायन भएका छन्। कयौँ विदेशिएका छन्। तसर्थ यस्तो कुरामा राज्यले अलिकति सम्बोधन गर्नसक्नुपर्छ। गरेर घरपरिवारले सहयोग गर्नुपर्छ।
साहित्य-संगीत पनि राष्ट्रको मेरुदण्ड हो। र यसमा लाग्दा भविष्य उज्यालो हुन्छ भन्ने एउटा सद्भाव पनि दिनसक्नुपर्छ। राज्यले पनि आफ्नो रुचिअनुसार कलाको एउटा परीक्षण गरेर कलालाई सबद्र्धन गर्ने, फलाउने-फुलाउने भनेर सोच राख्नुपर्छ।
धेरै भाइबहिनीहरू यतातिर आउन आग्रह पनि गर्छु सोही अनुसारको वातावरण बनाउने काम हामी सबैको हो। कलाको एउटा धर्म हुन्छ, शिष्टता हुन्छ, आफ्नै सभ्यता छ। हाम्रो सभ्यता एकदमै गहन छ, पूर्वीय दर्शनमा बाँचेका हामीहरुको आफ्नै किसिमको मौलिकता छ।
तसर्थ हामीले यतापट्टि त्यो ध्यान दिन जरुरी छ। जतिपनि कलाकार छौँ सबैले आ-आफ्नो धर्म सम्झेर कला एउटा साधना हो, पूजा हो, आराधना हो भनेर सम्मान गर्न सक्नुपर्छ। -नेपाल न्युज बैंक