काठमाडौं- आइतबार भृकुटीमण्डपमा नाडा अटो शो २०२५ को समापन भव्य रूपमा सम्पन्न भयो। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको १७औँ संस्करणको यो प्रदर्शनीमा १ लाख ७६ हजार ७८९ दर्शकले अवलोकन गरेका थिए, जुन दर्शक संख्याको हिसाबले नै ऐतिहासिक मानिएको छ।
यसपटक प्रदर्शनी विशेषतः उड्ने सवारी साधन, रोबोटिक म्यान र डग, र विभिन्न नयाँ ब्रान्डका विद्युतिय गाडीका कारण चर्चित बन्यो। उत्कृष्ट रूपमा सजिएका स्टल र अन्तर्राष्ट्रिय ब्रान्डका नवीनतम मोडेलहरूले यस वर्षको अटो शो विगतका संस्करणहरूभन्दा निकै भव्य र वृहत भएको अवलोकनकर्ताहरूले प्रतिक्रिया दिएका छन्।
प्रदर्शनीका हरेक दिन विविध विषयमा अन्तरक्रिया कार्यक्रमहरू पनि आयोजना भए। पहिलो दिन अटो उद्योगसम्बन्धी अन्तर्राष्ट्रिय व्यापार संवाद सम्पन्न भयो भने दोस्रो दिन विद्युतिय सवारीसाधनलाई नेपालमा कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरियो।
तेस्रो दिन कर्जा नीति र अटोमोबाइल बजारको दीर्घकालीन निकासबारे चर्चा भयो। चौथो दिन फलाइङ कार प्रविधि र युवाको मोबिलिटीबारे बहस भयो भने पाँचौँ दिन सडक र यातायात व्यवस्थापनसँगै ‘मेड इन नेपाल’ विषयमा समेत छलफल गरिएको थियो।
समापनकै दिन बसेको नाडा केन्द्रीय कार्य समितिको २१औँ बैठकले नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाललाई ‘नाडा अटोमोबाइल्स महासंघ नेपाल’ मा रूपान्तरण गर्ने प्रस्तावसहित विशेष साधारण सभा भदौ २४ गते आह्वान गर्ने घोषणा गरेको छ। नाडाले यो कदमलाई आफ्नै स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीको रूपमा लिएको जनाएको छ।