काठमाडौं-चीनको प्रख्यात कमर्शियल सवारी उत्पादन कम्पनी अक्वेल नेपालमा प्रवेश गरेको छ। अक्वेलले ईभी गो नेपाल प्रालिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेसँगै विद्युतीय माइक्रोबस र भ्यान नेपाल बजारमा उपलब्ध हुने भएका छन्।
अक्वेलले चीनमा दुई दशकभन्दा बढी समयदेखि कमर्शियल सवारी उत्पादन गर्दै आएको छ र हाल विद्युतीय सवारी उत्पादनलाई प्राथमिकतामा राखेको छ। कम्पनीले ११ सिट क्षमताको विद्युतीय भ्यानदेखि ठूला बस र पिकअपसम्म उत्पादन गर्दै आएको छ। विद्युतीय कमर्शियल सवारीहरू अहिले ७० भन्दा बढी देशमा बिक्री हुँदै आएका छन्।
ईभी गो नेपाल प्रालिका प्रबन्ध निर्देशक अनुपकुमार बरालका अनुसार सुरुमा ११, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस नेपाल आउने छन्। पछि कम्पनीले १९, २५ र २६ सिट क्षमताका ठूला विद्युतीय बस, कार्गो भ्यान, पिकअप र मध्यम आकारका ट्रक पनि ल्याउने तयारी गरेको छ।
अक्वेलको उत्पादन प्लान्ट चीनको फुजियान प्रान्तमा रहेको छ भने मुख्य कार्यालय सान्डोङ प्रान्तमा छ। कम्पनीसँग आफ्नै आरएन्डडी सेन्टर छ, जसमा सवारी उत्पादन सम्बन्धी अनुसन्धान र विकास भइरहेको छ। अक्वेलका सवारीहरूका स्पेयर पार्ट्स कम मूल्यमा उपलब्ध हुनु यसको मुख्य विशेषता हो।
ईभी गो नेपाल प्रालिले काठमाडौंमा सर्भिस सेन्टर निर्माण सुरु गरिसकेको छ र माइक्रोबस बिक्रीसँगै प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ। कम्पनीले विद्युतीय माइक्रोबस र भ्यानका लागि पर्याप्त स्पेयर पार्ट्स उपलब्ध गराउन पनि तयारी थालेको छ।