काठमाडौँ- सरकारले जबरजस्ती रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्ने तयारी गरेपछि संसदमा मुठभेडको खतरा बढेको छ। संभावित मुठभेडलाई ध्यानमा राखेर संसद बैठक कक्षको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ।
बैठक कक्षमै सयजना मर्यादापालक खटाइएको छ। हाल एक सय ३१ मर्यादापालक रहेकामा ३० जना थप्ने भएको हो । आवश्यक परे अझै ३० जना प्रहरी हेडक्वार्टरबाटै मगाउने तयारी भएको मर्यादापालक उपप्रमुख सानुभाइ खड्काले जानकारी दिए । सचिवालयले रोस्ट्रमअघि मर्यादापालकको डबल रो राख्ने भएको छ जसका लागि १०० भन्दा बढि मर्यादा पालक खटिने भएका छन् ।
सरकारले दोस्रो पटकको प्रयास पनि असफल भएपछि शुक्रबार जसरी भएपनि विधेयक पारित गर्ने सरकारकोरणनीति छ । त्यसलाई रोक्न प्रतिपक्षले बैठक प्रारम्भ नहुँदै रोष्ट्रम घेराउ गरेर विधेयक रोक्ने तयारी गरेको छ। शुक्रबारको बैठक दुवै पक्ष आक्रमक मनस्थितिमा रहेकोले मुठभेठको खतरा छ ।
गत मंगलबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच घम्साघम्सी भएपछि बैठक चल्न सकेको थिएन । सोमबार र मंगलबारका ५ बैठक कांग्रेसको अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपाई स्थगित भएपछि शुक्रबार दिउँसो १ बजेका लागि अर्को बैठक आह्वान भएको छ ।
विपक्षी दल कांग्रेसले बल प्रयोग गरिएपनि विधेयक पारित हुन नदिने अडान कसेको छ । उसले संसद्मा जुनसुकै परिस्थिती पनि निम्तिन सक्ने चेतावनी समेत दिएको छ । सरकारको बलमिच्याइँ सह्य नहुने र त्यसको कडा प्रतिवाद गर्ने कांग्रेस सांसद गगन थापाले बताए । उनले विधेयक फिर्ता नलिएसम्म संसदको अवरोध कायम रहने जानकारी दिए ।
सत्तापक्ष दल भने संसदको प्रक्रियामा गइसकेकाले विधेयक अब फिर्ता नहुने र परिमार्जन पनि नगर्ने अडान छ । कुनै एउटा व्यक्तिका लागि सार्वभौम संसद्लाई बन्धक बनाउन नहुने समेत नेकपाका सांसदहरुको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४