काठमाडौं-एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल 'संग्रहालय' विमोचन गरिएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार नारायणहिटी दरबार संग्रहालयमा आयोजित एक कार्यक्रममा जर्नल सार्वजनिक गरे।विमोचन कार्यक्रममा मन्त्री पाण्डेले संस्कृति संरक्षणमा निजी क्षेत्रको प्रयासको प्रशंसा गर्दै संग्रहालयको व्यवस्थापनका लागि सरकारले नीतिगत काम गरिरहेको बताए।
एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्काले सांस्कृतिक सम्पदाको संरक्षण आफ्नो संस्थाको प्राथमिकतामा रहेको बताइन्।त्यसैगरी, युनेस्कोका प्रतिनिधि याको दु तोइ र आइकम नेपालका अध्यक्ष रमेशप्रसाद दवाडीले नेपालमा संग्रहालय क्षेत्रको विकास र प्रवर्द्धनमा जोड दिए।
यो जर्नल 'संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवर्द्धन' नामक एकवर्षे परियोजनाअन्तर्गत प्रकाशन गरिएको हो।परियोजना अन्तर्गत १०० भन्दा बढी संग्रहालयकर्मीलाई तालिम दिइएको, जानकारीमूलक पुस्तिका प्रकाशन गरिएको र नेपालको संग्रहालय इतिहासबारे वृत्तचित्र निर्माण गरिएको आयोजकले जनाएको छ।
सरकार, निजी क्षेत्र र समुदायबीचको यो सहकार्यले नेपालको सम्पदा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको र अन्य संस्थाका लागि समेत प्रेरणादायी बनेको सरोकारवालाहरूको भनाइ छ।