काठमाडौं- नेपाली कांग्रेसले पार्टी भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र वाइडबडी खरिद प्रकरणका मुद्दालाई प्रमुख रुपमा उठाउने भएको छ । महासमिति बैठकको एक महिनापछि बिहीबारदेखि केन्द्रीय समिति बैठक बस्ने कार्यक्रम छ ।
‘मुद्दा धेरै छन्, विशेष रुपमा नेपाल विद्यार्थी संघको कार्यसमितिलाई यथावत् राखेर महाधिवेशनको जिम्मेवारी दिने वा तदर्थ समिति गठन गर्ने र वाइड बडी खरिदका सम्बन्धमा गहन छलफल हुनेछ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने ।
दुई पटक गरी नेविसंघको म्याद पाँच पटक थप्दा पनि नेविसंघको वर्तमान कार्यसमितिले महाधिवेशन गर्न सकेको छैन । माउ पार्टी कांग्रेसमा रहेको गुटउपगुटको प्रभाव विद्यार्थी संगठनमा देखिँदै आएको छ । यस्तै वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने वा कसैको नेतृत्वमा तदर्थ समिति बनाउने भन्ने विषयमा नेतृत्व तहमा विवाद छ । माघ १० गते बस्ने बैठकले निर्णय गर्ने गरी हालका लागि नेविसंघको केन्द्रीय कार्य समितिलाई यथावत् राखिएको छ ।
नेतृत्वले जबाफ दिनुपर्ने अर्को विषय वाइड बडी विमान खरिद प्रकरण हो । प्रकरणमा छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको कांग्रेस अहिले पछि हटेको छ । सभापति देउवा पनि यसमा मुछिएका छन् । त्यसैले यो मुद्दा पनि कांग्रेस बैठकमा उठ्नेछ ।
प्रवक्ता शर्माले भने, ‘एउटा प्रधानमन्त्री भर्खर गएको अर्को प्रधानमन्त्री नआइसकेको अवस्थामा निगम बोर्ड बैठक बसेर कुनै निर्णय हुन्छ भने त्यसको गम्भीर ढंगले अनुसन्धान गर्नुपर्छ ।’ यस्तै गोविन्द केसी अनशन प्रकरण, पार्टीका पूर्वसभापति सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाका नाममा खुलेका स्वास्थ्य संस्थामा सरकारले पूर्वाग्रह राखेको कांग्रेसको आरोप छ । यो विषय पनि बैठकमा छलफल हुनेछ ।
यस्तै पूर्व प्रधानमन्त्री तथा पूर्व सभापति गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा रहेको अस्पताल संघ अन्तर्गत ल्याउनका लागि सरकारलाई दवाव दिने विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।
महासमिति बैठकले सुझासहित पारित गरेको विधान संशोधन मस्यौदा समितिका प्रतिवेदन र अन्य समितिका प्रतिवेदनलाई बैठकले पारित गर्नेछ । यसैगरी पार्टी सदस्यता वितरणको सुरुवात, प्रशिक्षणलाई तीव्रता र विभाग गठनका विषयमा महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४