बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अग्‍निरेखाका नाममा जंगल फँडानी : जता ठूला रुख त्यतै सडक

अग्‍निरेखाका नाममा जंगल फँडानी : जता ठूला रुख त्यतै सडक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलालीको चुरे गाउँपालिका-६ सिद्धप्रगतिशील सामुदायिक वनमा अग्निरेखा निर्माण गर्ने नाममा रूख काट्न सडक निर्माण गरिएको पाइएको छ। सामुदायिक वनको कार्ययोजनाअन्तर्गत भन्दै अग्निरेखा निर्माणका नाममा ठूलठूला रूख जता छन् त्यतैतिर ताक्दै सडक निर्माण गरिएको हो। 

सामुदायिक वन उपभोक्ता समिति र सडक निर्माण समितिको मिलेमतोमा अग्निरेखाका नाममा अवैध रूपमा जंगलभित्र सडक निर्माण गरी रूख कटान गरिएको छ। एक स्थानीयले काठ तस्करी गर्नका लागि अग्निरेखाका नाममा रूख कटान गर्न थालिएको बताए। उनले भने, ‘सामुदायिक वनमा डढेलो नियन्त्रण गर्नका लागि भन्दै अग्निरेखा बनाएर ठूलठूला रूख ताक्दै सडक बनाइएको छ, त्यो पनि स्काभेटर चलाएर।’वनभित्र अवैध रूपमा स्काभेटर चलाएर रूख ढाल्दै अग्निरेखा बनाएको विरोध स्थानीयले गरेपनि उनीहरुलाई धाक धम्की दिई चुप लगाइएको स्रोतले बतायो।

सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनका लागि भन्दै सव डिभिजन वन कार्यालय सहजपुरले ६६ रूख र ढलापडा र सुखा खडाका एक सय ९२ रूख कटानको आदेश दिएको थियो। तर, सामुदायिक वन उपभोक्ता समिति र सडक निर्माण समितिले मनोमानी रूपमा सडक निर्माण र अग्निरेखा निर्माणका नाममा नम्बरिङ नगरिएकै रूख कटान गरेका हुन्। 

उनीहरुले राम्रा, सग्ला र ठूलठूला रूख भएको स्थानमा घुमाउरो सडक बनाउँदै रूख कटान गरेका छन्। ‘वनको कार्ययोजना र वन कार्यालयको आदेश लत्याउँदै आफूखुसी सामुदायिक वन र सडक निर्माण समितिले रूख कटान गरेको हो,’ अर्का एक स्थानीयले भने, ‘जता जता ठूलठूला साल र सल्लाका रूख छन्, उतै उतै अग्निरेखाका नाममा सडक बनाइएको छ।’ उनले अग्निरेखाको विरोध गर्दा गाउँमा विकासविरोधीको ‘बिल्ला’ भिराइने हुँदा आफूहरु चुपचाप सहन बाध्य भएको बताए। 



अग्निरेखा र सडक निर्माणका रूपमा ज्यादती भएको भन्दै सब डिभिजन वन कार्यालय सहजपुरले सिद्ध प्रगतिशील सामुदायिक वनका अध्यक्ष हर्कबहादुर साउँद र सडक निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर धामीलाई पक्राउ गरेको छ। वनसँग अनुमति नलिई आफूखुसी जंगलमा अग्निरेखा निर्माण गरेकाले आफूहरूले सामुदायिक वनका अध्यक्षलाई समातेको सब डिभिजन वन कार्यालय सहजपुरका सहायक वन अधिकृत डबल बोहराले बताए। 

यो पनि, सुदूरपश्चिम : वन फाँडेर प्रदेश राजधानी 

उनले भने, ‘अग्निरेखा बनाइएको ठाउँमा २० वटा ठूला रूख काटिएका छन्, ती अवैध हुन्।’ सामुदायिक वन अध्यक्ष र सडक निर्माण समितिका अध्यक्षलाई समातेर अनुसन्धान जारी गरिएको बताउँदै उनले भने, ‘प्रारम्भिक चरणमा कमजोरी देखिएकै छ, हामी अनुसन्धानकै क्रममा छौं।’ सिद्ध प्रगतिशील सामुदायिक वनसँगै जोडिएको सिद्ध लगनशील सामुदायिक वन आमपानीमा पनि सडकका नाममा अवैध रूख कटानी भएको छ। 

सो सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन र ढलापडा सुखाखडाका नाममा जंगलमा प्रारम्भीक वातावरणीय अध्ययनबिनै सडक बनाइएको छ। जता जता रूख छन् त्यसै त्यसै सडक बनाइएको आमपानीका एक स्थानीयले बताए। ‘सडक पनि घुमाउरो गर्दै जंगलै जंगल बनाइएको छ,’ उनले भने, ‘सामुदायिक वनको कार्ययोजनामा ढलापडा भन्दै सग्ला र आलै रूख कटान गरिएको छ।’ सिद्ध लगनशील सामुदायिक वनमा पनि अवैध रूख कटानी भएको भन्दै सव डिभिजन वन कार्यालयले प्राविधिकसहितको अनुगमन टोली खटाएको छ। 



‘प्राविधिकसहितको अनुगमन टोली खटाएका छौं,’ सव डिभिजन वनका सहायक वन अधिकृत बोहराले भने, ‘टोलीको प्रतिवेदनको पर्खाइमा छौं।’ तर, सिद्ध लगनशील सामुदायिक वनका अध्यक्ष लालबहादुर साउँदले आफूहरूले वैज्ञानिक वन व्यवस्थापन र सामुदायिक वनको कार्ययोजना अनुसार नै रूख कटानी गरेको दाबी गरे। ‘सडक त गाउँपालिकाको बजेटले बनाइएको हो,’ अध्यक्ष साउँदले भने, ‘त्यही सडक वरपरको हाम्रो सामुदायिक वनमा वनको नीतिअनुसार नै रूख कटानी गरेका छौं।’ 

डिभिजन वन कार्यालय धनगढीका वन अधिकृत अमर बुलनले चुरे गाउँपालिकाको सामुदायिक वनमा भएको बेथितिको अनुसन्धानका लागि दुई जनालाई समातिएको बताए। उनले भने, ‘सामुदायिक वन उपभोक्ता समितिले वनभित्र अवैध रूपमा सडक बनाएको र रूख कटान गरेको भन्ने प्रारम्भिक कुरा अनुगमन जारी छ।’ हिरासतमा राखिएका दुवै जनाले गल्ती स्वीकारेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।