बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका मन्‍त्रीले यसरी उडाउँदैछन् प्रदेश ढुकुटी

कर्णालीका मन्‍त्रीले यसरी उडाउँदैछन् प्रदेश ढुकुटी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत :
‘नगर्नु साइले अल्लारे कुरा,
मुखैमा रामराम बगलिमा छुरा ।’

कुनै बेला कर्णालीका पाखापखेरामा चर्चित सल्यानी टप्पा गीतको यो अंश आजभोलि कर्णालीका मन्त्रीहरुको व्यवहारमा ठ्याक्कै मेल खान पुगेको छ । भाषणमा कर्णालीको गरिबी र अभावलाई अन्त्य गर्न मितव्ययी र पारदर्शिता अपनाउने रटान कस्दै आएका मन्त्रीहरु व्यवहारतः त्यसको ठिक विपरीत देखिएका छन्।

कुनै सार्वजनिक कार्यक्रम वा चियागफ जहाँतहीँ ‘समृद्ध कर्णालीको अभियान सफल बनाउन सरकार आफैं मितव्ययी र पारदर्शी हुनेछ ।’ मन्त्रीको सुगा रटाइजस्तो यो शब्दले व्यवहारमा उनीहरु आफैंलाई जिज्याएको छ यतिबेला । मन्त्रीहरुले पछिल्लो ६ महिनामा लिएको भ्रमण, सेवासुविधा र भत्तासम्मको हिसाबकिताब केलाउने हो भने ‘समृद्ध कर्णाली त यस्तै हो, समृद्ध कर्णालीका मन्त्री’ भने पक्कापक्कीजस्तै देखिएको छ।

६ महिना अवधिमा मन्त्रीहरूले सेवासुविधामा ३३ लाख रुपैयाँ खर्च गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा तलब, भ्रमण भत्ता र अतिथि सत्कारमा ३३ लाख बढी खर्च भएको छ । साउनदेखि पुस मसान्तसम्म सात मन्त्रीले मात्रै ३३ लाख ६९ हजार नौ सय ५६ रूपैयाँ खर्च गरेका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार मन्त्रीहरूको मासिक पारिश्रमिकमा २२ लाख ३७ हजार आठ सय २० रूपैयाँ खर्च भएको छ । कुनै सार्वजनिक कार्यक्रममा सिंगो क्याबिनेट नै सहभागी हुन नछुटाउने मन्त्रीहरुले सात लाख ५७ हजार एक सय ४५ रूपैयाँ भत्तामा खर्च गरेका छन् । भैपरी खर्च र विविधमा मन्त्रीहरूले तीन लाख ७५ हजार रूपैयाँ खर्च गरेका छन् । यो सबै जोड्ने हो भने मासिक पारिश्रमिकबाहेक ११ लाख ३२ रूपैयाँ खर्च भएको छ।

सबैभन्दा बढी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खर्च गरेका छन् । मासिक ६० हजार नौ सय ७० का दरले मुख्यमन्त्रीले ६ महिनामा तीन लाख ५६ हजार आठ सय २० रूपैयाँ पारिश्रमिक बुझेका छन् । अन्य ६ जना मन्त्रीले मासिक ५२ हजार रूपैयाँका दरले जनही तीन लाख १२ हजार रूपैयाँ पारिश्रमिक लिएका छन् । कार्यालयका अनुसार सबैभन्दा बढी भ्रमणभत्ता लिनेमा पनि मुख्यमन्त्री शाही नै छन् । शाहीले साउनयता दुई लाख २७ हजार एक सय २५ रूपैयाँ भ्रमण भत्ता लिएका छन् भने ७५ हजार रूपैयाँ भैपरी आउने र विविध खर्चबापत रूपैयाँ लिएका छन्।

भ्रमण भत्ता बुझ्ने मन्त्रीहरूमा मुख्यमन्त्रीपछि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला छन् । उनले ६ महिनामा एक लाख ६२ हजार ६ सय ६५ रूपैयाँ भम्रण भत्ता बुझेका छन् ।यसअघि भ्रमण खर्चमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले मुख्यमन्त्री शाहीलाई उछेनेकी थिइन् । चालु आर्थिक वर्षमा पछि परेकी मन्त्री केसीलाई उछिन्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बढी बुझेका छन् । मन्त्री ज्वालाले एक लाख ६२ हजार ६ सय ६५ रुपैयाँ बुझेका छन् । 

आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पनि एक लाखभन्दा बढी रकम बुझेका छन् । उनले एक लाख १५ हजार २ सय दस रुपैयाँ बुझेका छन् । भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले एक लाख ७ हजार २ सय २५ रुपैयाँ बुझेकी छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ४४ हजार तीन सय रुपैयाँ भ्रमण खर्च बुझेका छन् । त्यस्तै, सामाजिक विकासमन्त्री दल रावलले ५० हजार ८० रुपैयाँ बुझेका छन् । भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले ५० हजार ५ सय ४० रुपैयाँ बुझेका छन् ।
 
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७५ अनुसार मुख्यमन्त्रीले मासिक १५ हजार र मन्त्रीहरूले १०-१० हजार रूपैयाँका दरले साउनदेखि मंसिरसम्म तीन लाख ७५ हजार रूपैयाँ अतिथि सत्कारबापत खर्च लिएका छन्।

ऐनअनुसार मुख्यमन्त्री शाहीले सरकारी कामको सिलसिलामा नेपालभित्र वा प्रदेश सरकारका तर्फबाट विभिन्न समारोह, उत्सव, सम्मेलन आदिमा भाग लिएबापत दैनिक तीन हजार रूपैयाँ लिन पाउँछन् । मन्त्रीहरूका लागि भ्रमण भत्ताबापत दैनिक दुई हजार पाँच सय नेपालभित्रैको भ्रमणमा पाउने व्यवस्था छ भने विदेश भ्रमण जाँदा एक सय ७५ अमेरिकी डलरमा भत्ता पाउने व्यवस्था छ ।

तस्बिरः मन्त्रिपरिषद् बैठक र मन्त्रीहरु ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।