काठमाडौं- नेपाल विद्यार्थी संघले डा गोविन्द केसीको पक्ष र निर्मला बलात्कारको विपक्षमा बुधबार राजधानीमा बृहत प्रदर्शन गर्ने भएको छ।
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरका अनुसार बुधबार दिउँसो १ बजे काठमाडौंको माइतिघरमा नेविसंघले बृहत प्रदर्शन गर्ने भएको छ।‘ वर्तमान सरकार अनुदार रुपले चिकित्सा शिक्षा विधेयक पास गर्ने रणनीतिमा लागेको छ’, उनले भने, ‘सदन भित्रर र सदन बाहिर त्यसको शसक्त प्रतिरोध गर्ने नीति कांग्रेसले लिएको छ।
सोही पार्टीको नीति अनुसार नेविसंघले चिकित्सा शिक्षा विधेयक पासको विरोध गर्दै बृहत प्रदर्शन गर्ने छ।’ उनले देशभरका सबै शैक्षिक संस्था र पालिकामा भण्डाफोर गर्ने कार्यक्रम रहेको समेत जानकारी दिएका छन्।
कम्युनिस्ट सरकारलाई १६ प्रश्न उल्लेख गर्दै देशव्यापी आन्दोलन गर्ने नेविसंघले जनाएको छ। आफूहरुका माग पुरा नभए आन्दोलनलाई थप शसक्त पारिने अध्यक्ष महरले बताए।
यस्ता छन् नेविसंघका १६ प्रश्न
– नेपाली कांग्रेसको सरकारले र डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने गरी ल्याएको चिकित्सा शिक्षा विधेयक किन फेरियो?
– निर्मलाका हत्यारालाई सरकारको संरक्षण किन?
– ३३ किलो सुन काण्डका अपराधी कता लुकायौ?
– वाइडबडी घोटालाका दोषीको संरक्षण किन?
– पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद र शुसिल कोइरालाको नाममा स्थापना हुन लागेका स्वास्थ्य संस्थालाई किन खारेज गर्न जोजिदै छ?
– दैनिक उपभोग्य बस्तुमा ३००% भन्दा बढी मूल्य बृद्धि किन?
– चिनिमा भएको अर्बौ भ्रष्टाचारको छानविन कैले हुन्छ?
– कांग्रेस सरकारको पालामा ल्याएको सामाजिक सुरक्षा कार्यक्रम कटौती किन?
– राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना विदेशीलाई किन?
– यातायातको सिन्डिकेट नहटाउन कति कम्ल्यायौं?
– प्राज्ञिक थलो विश्वविद्यालयमाथि सरकारी हस्तक्षेप किन?
– नेविसंघको आन्दोलनबाट प्राप्त उपलब्धि विद्यार्थीको सर्टिफिकेट धितो राखेर विना ब्याज ऋणको ब्यवस्था किन लागु भएन?
– शिक्षामा २०% बजेटको ब्यवस्था किन भएन?
– माध्यामिक शिक्षा निशुल्कको संवैधानिक ब्यवस्था कहिले लागु हुन्छ?
– विद्यार्थीका लागि निशुल्क स्वास्थ्य बिमा किन कार्यान्वयन भएन?
– स्ववियु निर्वाचनको कार्यतालिका किन प्रकाशित हुँदैन?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४