धनगढी- कैलालीको गोदावरी नगरपालिका १ का २० वर्षीय अरुण भट्टलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने मुख्य अभियुक्त तीनसहित ६ जना पक्राउ परेका छन्।
शनिबार बेलुकी अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव हेरेर घरतर्फ फर्किने क्रममा भट्टलाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने मुख्य योजनाकार गोदावरी नगरपालिका २ का २१ वर्षीय विनोद ऐर, १९ वर्षीय वीरेन्द्र शाह र २० वर्षीय प्रमेश मगरलाई प्रहरीले पक्राउ गरेको हो।
यस्तै मुख्य योजनाकारलाई विभिन्न काममा सहयोग गर्ने अन्य तीन पनि पक्राउ परेका छन्। मुख्य योजनाकार ऐरलाई मोटरसाइकलमा बोक्न सहयोग गर्ने धनगढी उप-महानगरपालिका ३ बोराडाँडीका डेबिट ऐर र ऐरलाई कोठामा लुकाइराख्ने भजनी नगरपालिका २ घर भई धनगढीमा बस्दै आएकी २१ वर्षीया मन्जु चौधरी खड्का र धनगढी उपमहानगरपालिका १३ शिवटोलका २१ वर्षीय लोकेश खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाका अनुसार मुख्य अभियुक्त विनोद ऐर र अन्य सहयोगी तीनलाई आइतबार राति पक्राउ गरिएको हो। शाह र मगरलाई गयराति अत्तरिया र धनगढीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। हत्याको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ।
अत्तरिया क्षेत्रमा विभिन्न आपराधिक कार्यमा संलग्न यो समूह पटकपटक प्रहरीको नियन्त्रणमा पर्ने र छुट्ने गरेको खुलेको छ। यो समूहबाट पीडित स्थानीय डरत्रासले जाहेरी दिन नमान्ने गरेको बुझिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४