धनगढी - सुदूरपश्चिम प्रदेशसभाले प्रदेशको राजधानी जैविक मार्गमा पर्ने गोदावरीको तेघरी क्षेत्रमा तोकेपछि सर्वत्र विरोध भइरहेका बेला विज्ञहरुको एक समूहले पनि स्थलगत अध्ययनपछि पर्यावरण नासिने चिन्ता व्यक्त गरेको छ।
तेघरीको जंगलमा सुदूरपश्चिम प्रदेशको राजधानी बनाउँदा पर्यावरण नासिने र भविष्यमा त्यसको ठूलो असर पर्ने चिन्ता वन तथा वातावरणविद्हरुले गरेका हुन्। आइतबार बिहान तेघरी जंगलको अनुगमन गर्दै वनविज्ञहरुले चिन्ता गरेका छन्।
वन वातावरण संरक्षण विज्ञ तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. प्रभू बुढाथोकीले चुरेको फेदीमै रहेको जैविक मार्गमा पर्ने तेघरी जंगल क्षेत्र कुनै पनि हिसाबले राजधानीका लागि उपयुक्त नभएको बताए।
तेघरी जंगल वातावरणीय र जैविक महत्त्वको मात्रै नभई भाबी पुस्ताका लागि चाहिने स्रोत यही रहेको उनले बताए। ‘वातावरण जोगाउने भनेको विकासलाई दिगो बनाउन हो’, उनले भने, ‘यो विकासलाई बाधा गर्नका लागि होइन, वातावरण नबिगारीकनै विकास गर्न सकिन्छ, त्यसैले तेघरी जंगल नभई राजधानीका लागि अन्य स्थल छनौट गरिनुपर्छ।’
संसारभर वातावरण नबिगारीकन विकास गर्ने प्रचलन चलिरहेका बेला सुदूरपश्चिम सरकारले जंगल क्षेत्र मासेर राजधानी बनाउने निर्णय गर्नु कुनै पनि हिसाबले उपयुक्त नभएको उनको धारणा थियो। आफूले तेघरी क्षेत्रमा सानासाना बुट्यान मात्र रहेको सुने पनि त्यहीं पुगेर हेर्दा ठूलठूलो सालको रूखसमेत देखेको उनले सुनाए।
पूर्व सांसद एवम् प्राकृतिक स्रोत तथा वातावरण संरक्षण समितिका पूर्वसभापति जनकराज चौधरीले बुट्यान भन्दै अफवाहका रुपमा तेघरी जंगललाई परिभाषित गरिएको कुरा झूटो साबित भएको बताए। तेघरी जंगलको अनुगमन गर्दै उनले आफ्नै आँखाले सालघारीका रुपमा विकसित वन देखेको बताए। वातावरण संरक्षणको कुरा गम्भीर रुपमा उठिरहेका बेला जंगल मासेर राजधानी बनाउने परिकल्पना गर्नु मूर्खता भएको उनको भनाइ थियो। चुरे क्षेत्र नजिकै रहेको र चुरे क्षेत्रबाट सोसिएको पानी भाबर क्षेत्रमै रिजर्भ हुने गरेको बताउँदै वनविज्ञ तथा पूर्वजिल्ला वन अधिकृत रमेश चन्दले यस्तो संवेदनशील क्षेत्रलाई जोगाउनुको साटो विनाश गर्नु उपयुक्त नहुने बताए। गर्मीको समयमा यहाँका वन्यजन्तुको पानी पिउने थलो भनेकै गोदावरी नदी भएको बताउँदै उनले तेघरी जंगल जैविक मार्ग भएकाले पनि यसको संरक्षणमा वन तथा वातावरणविद्ले चासो दिनुपर्ने बेला आएको सुनाए। ‘विश्वमा तापक्रम बढिरहेको सन्दर्भमा उनले भने,‘कार्वन सोस्ने र अक्सिनज उत्सर्जन गर्ने भनेकै यिनै बुट्यान र हरियालीले नै हो, यसलाई हामीले संरक्षण गर्न सकेनौं भने भोलि गोदावरी तलको क्षेत्र मरुभूमीकरण हुन जान्छ।’
सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले तेघरी जंगलमा राजधानी राख्ने कुरामा आफूहरुको विमति रहेको बताए। आफूहरुले अत्तरिया क्षेत्रको विरोध नगरेको भन्दै रावलले अन्य क्षेत्र जहाँ भए पनि जंगल मास्न नहुने प्रमुख सवाल रहेको सुनाए। अर्का प्रदेश सभा सदस्य डिल्लीराज पन्तले राजधानी अत्तरीयामा भयो भनेर विरोध गरेको नभई वातावरणलाई प्रभाव पर्ने र वन्यजन्तुको आवागमन असर पुग्छ भनेरै विरोध गरेको बताए। अत्तरीयामै जंगल विनाश नहुने ठाउँमा राजधानी सार्न सकिने कुरामा आफूहरुको दुईमत नभएको समेत उनले बताए।