चिकित्सा शिक्षा विधेयकलाई लिएर संसदमा भिडन्तको संकेत
काठमाडौं- सरकारले मंगलबार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने तयारी गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सोमबार विधेयक पारित गर्न असफल भएको सरकारले मंगलबार विधेक पारित गर्ने रणनीति बनाएको हो ।
सोमबारको बैठक कांग्रेसले अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो। सोमबारको कार्यसूचीमा यो विधेयक पारित गर्ने उल्लेख थियो। मंगलबार भने कांग्रेसले अवरोध गरे पनि बैठक सञ्चालन गर्ने तयारीमा सभामुख कृष्णबहादुर महरा रहेको स्रोतले जनाएको छ । आजको बैठक दिउसो ३ बजेका लागि बोलाइएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधनको माग गर्दै डा. गोविन्द केसी आमरण अनशन बसिरहे पनि प्रतिनिधिसभाले उक्त विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र त्यसपछि उक्त विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले बनाएको छ ।
विधेयक मेडिकल माफिया पोस्ने गरि आएको भन्दै कांग्रेस यसलाई आजपनि रोक्ने तयारीमा छ । विधेयकमाथि छलफल हुन नदिने र रोष्टम घेराउ गर्ने तयारी भएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले जानकारी दिए । उनले डा केसीको माग सम्बोधन गरिनु पर्ने, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल संघअन्तर्गत नै राख्नु पर्ने माग पुरा नभएसम्म संसद चल्न नदिने बताए ।
सत्ता र प्रतिपक्ष दुबै दलले आफ्ना सांसदहरुलाई अनिवार्य रुपमा संसदमा उपस्थित हुन ह्विप समेत जारी गरेका छन् । सत्ता पक्ष पेलेरै भएपनि विधेयक पारित गर्ने र विपक्षी दल विधेयक रोक्ने अडानमा रहेका कारण मंगलबार संसदमा दुई पक्षबीच भिडन्तको संकेत देखिएको छ । दुबै पक्ष आफ्नो स्वार्थसिद्धीका लागि रणनीति बनाइरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४