सोमबार, पुस १४, २०८२

धरान-चतरा सडक खण्डका ३ पुल निर्माणको अन्तिम चरणमा

 |  मंगलबार, असार ३१, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३१, २०८२

सुनसरी- मदन भण्डारी राजमार्ग अन्तर्गत सुनसरीको धरान–चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन्।

National life

यी पुलहरूसँगै सो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै सुरु हुन सकेको छैन । निर्माणको जिम्मा लिएको सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीका इञ्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माण करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ।


उनका अनुसार धरान–चतरा सडकखण्ड सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा निर्माण भइरहेको दुवैतर्फ पेटीसहित ६० मिटर लामो बाघ खोला पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ।

त्यस्तै, बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको निर्माण ९५ प्रतिशत र ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम ९० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए।

“रेल्वे पुलको काम भने जङ्गल क्षेत्रभित्र पर्न गएका कारण सुरु हुन सकेको छैन । जङ्गल क्लियरेन्सको काम अफिसले गर्ने भएकाले क्लियरेन्स भएपछि तुरुन्तै काम सुरु गरिनेछ”, इञ्जिनियर श्रेष्ठले भने।

Laxmi sunrise bank
kumari

कम्पनीले चार वटा मोटरेबल पुल निर्माणका लागि भ्याटसहित रु २१ करोड ७८ लाख ६३ हजार ७५० मा २०७९ साल जेठ महिनामा ठेक्का स्वीकृत गरी निर्माण सुरु गरिएको थियो।

तीन वटै पुल सञ्चालनमा आइसकेका छन् भने छेउछेउमा फिनिसिङको काम बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताए । छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ र छेउको बाटोमा यसअघि रोकिएको रुख व्यवस्थापनपछि बाँकी काम सम्पन्न गरिने उनले जानकारी दिए।

उनले भने, “बर्खामा खोलामा यात्रा गर्न निकै कठिन थियो, कैयौँ मानवीय क्षति भएको थियो। अब पुल बनेपछि सहज यात्रा सम्भव भएको छ।”

उक्त सडकखण्ड भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लाका नागरिकका लागि धरान बजारमा स्वास्थ्य सेवा, शिक्षा तथा कृषि उपज बिक्री वितरणका लागि महत्त्वपूर्ण मार्ग हो । पुल नहुँदा वर्षायाममा सास्ती भोग्नुपरेको समस्याको दीर्घकालीन समाधान हुने स्थानीयहरूको विश्वास छ। रासस

प्रकाशित: Jul 15, 2025| 10:31 मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्