काठमाडौं। सरकारले विपद्सम्बन्धी कार्यलाई व्यवस्थित गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ तयार पारेर सुझाव मागेको छ।
गम्भीर प्रकृतिको विपद्बाट मृत्यु भएका व्यक्तिको शव खोजतलास, भण्डारण तथा परिवारलाई हस्तान्तरण, बेपत्ता हुनेको परिवारलाई उपलब्ध गराउनुपर्ने न्यूनतम राहत र बेपत्ता भएका व्यक्ति फेला नपरेमा मृत्युको न्यायिक घोषणालगायतका व्यवस्थाका लागि विधेयक तयार पारिएको गृह मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले उक्त विधेयकका सम्बन्धमा विधायन ऐन, २०८१ बमोजिम सूचना प्रकाशित गरी सर्वसाधारणको राय माग गरेको छ। सूचना प्रकाशन भएको सात दिनभित्र legalsectionmoha@gmail.com मा इमेल गरी सुझाव उपलब्ध गराउन मन्त्रालयले आह्वान गरेको छ।