जनकपुरधाम- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले केपी ओली नेतृत्वको सरकार नीतिविहीन सरकार रहेको आरोप लगाएका छन्। दश महिने कार्यकाल पुरा गरिसक्दासमेत जनताका लागि ठोस योजना ल्याउन नसक्नुले पनि अहिलेको सरकार नीतिविहीन रहेको पुष्टि भएको कोइरालाले बताए।
‘सरकार गठन भएको दश महिना पुगेको छ । तर अहिलेसम्म जनतालाई अनुभूति हुनेगरी कुनै काम भएजस्तो लागेको छैन,’सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले भने,‘सरकारले समृद्धिको झुटो नारामात्र बाँड्ने काममात्र गरेको छ।’
महामन्त्री कोइरालाले अनशनरत डा.गोविन्द केसीसँग विगतमा भएको सम्झौताविपरित सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजेको आरोप लगाए । जर्बजस्ती विधेय पारित गर्न खोजिए आफूहरु सदन चल्न नदिने उनको चेतावनी थियो।
प्रदेश २ का आर्थमन्त्रीले कर्मचारी कुटेर दुष्कार्य गरेको उनको आरोप थियो। ‘कर्मचारीले गल्ती गरे कानुन उपाय अपनाउन सकिन्छ,’ कोइरालाले भने,‘तर कर्मचारीलाई हातपात गरेर संघीयता विरोधी काम भएको छ।’
जिम्मेवार पदमा बसेका व्यक्तिले यस्तो कार्य गर्नु निन्दनीय रहेको उनको भनाइ थियो। मुलुकमा युवाहरुको संख्या ६० प्रतिशतभन्दा बढी रहेको भन्दै कोइरालाले उनीहरुका लागि सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने धारणा राखे।
महामन्त्री कोइरालाले पार्टीभित्र पनि विभिन्न विभाग गठन गरी युवा परिचालन गर्ने कांग्रेसको योजना रहेको जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४