काठमाडौं- मलेसियाबाट कलिङ भिसा आएका कामदारहरू वैदेशिक रोजगारीमा जाने बाटो खुलेको छ। त्यसको लागि प्रक्रिया सुरु भएको छ। सोमबार वैदेशिक रोजगार विभागले कलिङ भिसा आएकाहरुको तथ्यांक माग गरेसँगै उनीहरूको मलेसिया जाने बाटो खुलेको हो।
विभागले सरकार र मलेसिया सरकारबचीच श्रम सम्झौता(एमओयू) हुनुपूर्व कलिङ भिसा प्राप्त(म्याद बाँकी रहेका) कामदारहरुको तथ्यांक आवश्यक भएको भन्दै विवरण उपलब्ध गराउन सूचना जारी गरेको छ।
नेपालस्थित रिक्रुइटिङ एजेन्सीहरुमार्फत कलिङ भिसा प्राप्त गर्ने कामदारहरुको विवरण १५ दिनभित्र विभागमा उपलब्ध गराउन भनिएको छ। तथ्यांक संकलनपछि के-कस्ता समस्या देखिन्छ। सुल्झाएर मलेसिया पठाउने प्रक्रिया अघि बढ्ने बताइएको छ। मलेसिया दुतावासले पनि त्यसको लागि पहल गरिरहेको छ।
म्यानपावर व्यवसायीहरुले करिब दश हजार संख्यामा कलिङ भिसा आएको दावी गरेका छन्। आगामी दुई हप्तामा कति आएका रहेछन् वास्तविक तथ्यांक आउने विभागको भनाइ छ।
पछिल्लो समय नेपाल सरकार र मलेसिया सरकारबीच १२ कात्तिक ०७५ मा श्रम सम्झौता भएपछि नेपाली कामदारहरु मलेसिया जाँदा शून्य लागतमा जानेगरी व्यवस्था भएको छ।
यसैबीच नेपाल र मलेसिया सरकारबीच सम्झौता हुनुपूर्व केही कामदारहरुको कलिङ भिसा प्राप्त भएको र त्यस्ता कामदारहरुको सम्बन्धमा काममा जाने व्यवस्था मिलाइ दिनु हुन भनी सम्बन्धित कामदार र रिक्रुइटिङ एजेन्सीबाट बारम्बार अनुरोध भइरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४