सोमबार, पुस १४, २०८२

६३ हजारभन्दा बढीले अवलोकन गरे दियालो बंगला

 |  सोमबार, असार २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असार २३, २०८२

चितवन- एक वर्षअघि आजकै दिनबाट सर्वसाधारणका लागि खुला गरिएको दियालो बंगलामा ६३ हजार ४४८ जनाले अवलोकन गरेका छन्। जसबाट ५३ लाख १६ हजार ८५० रूपैयाँ राजस्व संकलन भएको जनाइएको छ।

National life

नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबार भरतपुर महानगरपालिकाले व्यवस्थापनमा सर्वसाधारणका लागि खुला गरिएको हो। दरबार प्रवेशका लागि सर्वसाधारण नेपालीलाई एकसय रूपैयाँ तथा ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ।

यस्तै, छिमेकी राष्ट्रहरु भारत र चीनका पर्यटकका लागि १५०, अन्य सार्क राष्ट्रका पर्यटकका लागि २ सय र सार्कबाहेकका मुलुकका पर्यटकका लागि ३ सय रूपैयाँ शुल्क निर्धारण गरिएको छ। संकलित राजस्वमध्ये ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत महानगरपालिकाले पाउने गरी सम्झौता गरिएको छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दियालो बंगला सर्वसाधारणलाई खुला गर्दै गर्दा ट्रष्ट र महानगरपालिका मिलेर भौतिक पूर्वाधारका काम गरिएको बताइन्। महानगरपालिकाले भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्षित गरी दियालो बंगला सञ्चालनमा ल्याउन पहल गरेको थियो। प्रमुख दाहालले दियालो बंगलाको ऐतिहासिक महत्व भएकाले यहाँ अध्ययन तथा घुम्न आउनेहरुको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताइन्।

तत्कालीन समयमा जाडो महिनामा राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेका थिए। यो राजपरिवारले सिकार खेल्न आउँदा बस्ने ठाउँ पनि हो। दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ। जसको भित्तामा तत्कालीन राजाहरु महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ। भर्‍याङमा विसं २०२६ मा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ भने बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ।

Laxmi sunrise bank
kumari

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन्। एक नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नंम्बर राजा र ३ नंम्बर रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन्। राजपरिवारले प्रयोग गरेका सामग्री अहिले जस्ताको तस्तै राखिएको छ। दरबारको छेउमा महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडीसी क्वार्टर छ। केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ।

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले चितवन घुम्न आउने पर्यटकका लागि बसाइ लम्भ्याउन दियालो बंगला सहयोगी भएको बताए। चितवन हुँदै राजधानी भित्रिने र बाहिरने एवं जिल्ला हुँदै यात्रा गर्ने जो कोहीका लागि सहज पर्यटकीय गन्तव्य दियालो बंगला बनेको अधिकारीको भनाइ छ।    -रासस

प्रकाशित: Jul 07, 2025| 16:31 सोमबार, असार २३, २०८२
प्रतिक्रिया दिनुहोस्