इटहरी- विश्वका आर्थिक ‘एलिट’ र अर्थतन्त्रका जानकारमा मात्रै चर्चामा आउने स्विट्जरल्यान्डको डेभोस शनिबारदेखि नेपालमा पनि चर्चामा छ। डेभोसको विश्व आर्थिक मञ्चमा पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन शनिबार स्विट्जरल्यान्ड प्रस्थान गरिसकेका छन्। त्यसैले डाभोसको विश्व आर्थिक मञ्चबारे सबैको चासो बढेको हो।
सोमबारदेखि बिहीबारसम्म अर्थात् जनवरी २२ देखि २५ सम्म हुने विश्व आर्थिक मञ्चका एजेन्डा आज विश्वभर सञ्चारमाध्यममा ‘हेडलाइन’ बनिरहेका छन्। आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएका खबर पनि धेरै विश्व मिडियामा आइसकेका छन।
धेरैलाइै चासो छ, यो कसको आयोजनामा भएको हो? कोको सहभागी भएका छन् ? सम्मेलनका मुद्दा के के छन्? प्रधानमन्त्री ओलीको सहभागिता केकेमा हुन्छ?
अंग्रेजीमा वल्ड इकोनोमिक फोरम भनिने विश्व आर्थिक मञ्चको आयोजनामा हुन लागेको हो यो सम्मेलन। हरेक वर्ष स्विट्जरल्यान्डको डाभोस भनिने ‘स्की रिसोर्ट’ का लागि चिनिएको सहरमा विश्वका प्रभावशाली आर्थिक र राजनीतिक व्याक्तित्वलाई बोलाएर यस्तो सम्मेलन गरिन्छ। विश्व आर्थिक मञ्चले आफूलाई सार्वजनिक निजी साझेदारीको सहकार्य गर्ने संस्थाका रूपमा वेबसाइटमा उल्लेख गरेको छ।
सन् १९७१ मा गैरनाफामूलक संस्थाका रुपमा स्विट्जरल्यान्डको जेनेभामा मुख्य कार्यालय राखेर सञ्चालनमा आएको हो विश्व आर्थिक मञ्च। हरेक बर्ष विश्वका जल्दाबल्दा आर्थिक तथा सामाजिक अनि राजनीतिक मुद्दामा यो सम्मेलन केन्द्रित हुँदै आएको छ।
सम्मेलनमा कोको सहभागी छन्?
विश्व आर्थिक मञ्चको वेबसाइटका अनुसार यो वर्षको सम्मेलनमा तीन सय जना सहभागी हुनेछन्। सयभन्दा बढी ठूला कम्पनीका मालिकसहित ३७ राष्ट्र प्रमुख युरोप र एसियाबाट सहभागी हुने कुरा सम्मेलन हुनु एक दिनअगाडि आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। सम्मेलनमा तीन सय ५० वटा विभिन्न सेसन चल्नेछन्।
सम्मेलनमा जापानका प्रधानमन्त्री सिन्जो आबे, जर्मन चान्सलर एंगेला मर्केल, ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारो, चिनियाँ उपराष्ट्रपति वाङ क्विसान, इटालीका प्रधानमन्त्री गुइसेपे कोन्ते, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेस, इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु सहभागी हुने कार्यक्रम छ।
दक्षिण एसियाबाट प्रधानमन्त्री ओलीसहित अफगानिस्तानका राष्ट्रपति महमद असरफ घानी सहभागी छन्।
यसबाहेक संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुटेरेस, थुप्रै अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, अर्थशास्त्रका ज्ञाता, प्राध्यापक र अन्य थुप्रै सरोकारवाला सहभागी हुनेछन्।
सम्मेलनको नारा र मुद्दा
विश्व आर्थिक मञ्चको सन् २०१९ को नारा भूमण्डलीकरण र जारी विश्वको चौथो औद्योगिक क्रान्तिको जमानामा विश्वको ‘आर्किटेक्चर’ निर्माणबारेमा रहेको छ। नारामा लेखिएको छ, ‘ग्लोबलाइजेसन ४.० : सेपिङ द ग्लोबर आर्किटेक्चर इन द एज अफ द फोर्थ इन्डस्ट्रियल रिभोलुसन।’
सम्मेलनमा यो नाराबाहेक अन्य थुप्रै मुद्दाहरुमा विश्वस्तरीय छलफल हुनेछ। छलफलमा मौसम परिवर्तनको सामना गर्ने मुद्दा, भत्किएका अर्थतन्त्रका प्रणाली मिलाउने मुद्दा र भविष्यका लागि थप रोजगारी निर्माण आदिका मुद्दामा छलफल हुने विश्व आर्थिक मञ्चको आधिकारिक वेबसाइटमा लेखिएको छ।
के केमा सहभागी हुँदैछन् प्रधानमन्त्री ओली?
चार दिनसम्म चल्ले विश्व आर्थिक मञ्चको सम्मेलनमा प्रधानमन्त्री ओली दुई सेसनमा प्यानलिस्टका रुपमा सहभागी हुनेछन्। प्रधानमन्त्री ओलीले मंगलबार हुने दक्षिण एसियामा रणनीतिक दृष्टिकोण अर्थात् ‘स्ट्राटेजिक आउट लुक अन साउथ एसिया’ विषयमा प्यानलिस्टको रूपमा सहभागी हुनेछन्। यस्तैगरी २३ तारिखमा हुने ‘सेपिङ द फ्युचर अफ डेमोक्रेसी’ अर्थात् प्रजातन्त्रको भविष्य निर्माण विषयक प्यानलमा प्रधानमन्त्री प्यानलिस्टका रुपमा सहभागी हुनेछन्।
यस्तैगरी प्रधानमन्त्रीले विश्व नेताहरू उपस्थित एक अनौपचारिक भेलालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४