भैरहवा- पर्यटकीय सहर भैरहवा, लुम्बिनी, बुटवल र त्यस आसपासका सहरोन्मुख क्षेत्रमा यतिबेला रेस्टुरेन्ट संस्कृति हवात्तै बढेको छ। विभिन्न नामका लाइभ म्युजिक रेस्टुरेन्ट, डान्सबार, मसाज सेन्टर, पब हाउस, सेकुवा कर्नर, कफी हाउस तथा गजल र दोहोरी साँझ च्याउसरि खुलेका छन्। ती रेस्टुरेन्टमाथि व्यावसायिकभन्दा भित्रभित्रै अन्य धन्दा चलाइरहेको भन्दै आलोचना हुन थालेको छ। जहाँ मध्यरातसम्म मदिराको नशामा लठ्ठिएर कलेज र विद्यालयका विद्यार्थी बसिरहेका हुन्छन्।
संघीयता कार्यान्वयनसँगै हरेक गाउँपालिका र नगरपालिकाका खुला र शान्त ठाउँमा रिसोर्ट, रेस्टुरेन्ट, लज र क्लब दिनप्रतिदिन खुलिरहेका छन्।
रुपन्देही क्षेत्रमा थरीथरीका रेस्टुरेन्ट खुलेका छन्। कैयौं पारिवारिक छन् त कैयौं नितान्त किशोरकिशोरीलाई लक्षित गरेर खुलेका छन्। होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीले आचारसंहिताविपरीत सञ्चालित रेस्टुरेन्ट एवं होटलहरूलाई कारबाही गर्न प्रशासनसमक्ष बारम्बार आग्रह गर्दै आएको छ। तर कुनै सुनुवाइ नभएको व्यवसायीको गुनासो छ। पछिल्लो समय रेस्टुरेन्टहरू खाना पारखीका लागि भन्दा पनि डेटिङ स्पटका रुपमा विकास हँुदै गएका छन्। रूपन्देहीका मुख्य सहर र सहरोन्मुख क्षेत्रमा खुलेका अधिकांश रेस्टुरेन्ट किशोर उमेर समूहका लागि लक्षित गरी निर्माण गरिएको छ।
भैरहवा बैंकरोडको टिएनटी, लुम्बिनी रोडमा रहेको ओल्ड डुक, मायादेवी बजार नजिकै रहेको क्लासिक, बसपार्कमा रहेको लर्डबुद्ध डान्सबार, बैंकरोडमा रहेको भैरहवा डान्सबार, ब्रमेलीटोलमा किंग्स प्यालेस, बेलहिया बाइपासमा रहेका नसा डान्सबारमा मध्यरातसम्म किशोरकिशोरीलाई मदिराको तालमा नचाउने गरी कार्यक्रम चलिरहन्छ।
साथीसँग नास्ता खाने, साथीको बर्थ डे, साथीसँग जमघटलगायतका नाममा किशोरकिशोरी रेस्टुरेन्टमा जाने र अनैतिक क्रियाकलापमा समेत सहभागी हुने गरेको देखिन्छ। यस्ता रेस्टुरेन्ट भैरहवामा मात्रै नभएर बुटवलमा पनि प्रशस्त छन्। बुटवलमा बुलेट प्वाइन्ट मिलनचोक, होराइजन चोकको बारकोट, चौराहको दरबार, मिलनचोक ग्यालेक्सी, द कन्ससेप्ट, स्पाइस, लाइम एन्ड लेमन, जुनतारा रेस्टुरेन्टमा किशोरकिशोरीको थामिनसक्नुको भीड हुन्छ।
बाहिर बोर्डमा नाम रेस्टुरेन्ट भए तापनि रात छिप्पिँदै जाँदा कतिपय ठाउँमा अनैतिक क्रियाकलापसमेत हुने गरेको गुनासो छ। केही रेस्टुरेन्टमाथि घुमाउरो ढंगले यौनधन्दा चलाइरहेको आरोप लागेको छ। प्रहरी प्रशासनलाई समेत सेटिङ गरेर काम भइरहेको एक रेस्टुरेन्ट सञ्चालकले नाम नबताउने सर्तमा बताए।
आधुनिकताका नाममा भित्रिएको विकृतिले किशोरकिशोरीको भविष्य बरबादी बनाइरहेको समाजशास्त्री उमेश रिजाल बताउँछन्। पश्चिमी संस्कृतिको आक्रमणको सिकार किशोर समूह भइरहेको रिजालको तर्क छ।
रिजालका अनुसार स्वतन्त्रताका नाममा अभिभावकले सन्तानको ख्याल गर्न छाड्दा पनि समस्या उत्पन्न भएको छ। उनले भने, ‘अपरिपक्व उमेर समूहका बालबालिका कहाँ जान्छन्, के गर्छन्, कोसँग जान्छन् सबै ख्याल गर्ने काम अभिभावकको हो। यस्तो गरिएन भने समाज पछि नियन्त्रणबाहिर जान सक्छ।’
बुटवलको तीनकुनेदेखि होराइजन चोकसम्म खुलेका नयाँ रेस्टुरेन्टहरूमा किशोरकिशोरीको हुक्का तान्ने र बियरको चुस्की लगाउने मुख्य सेन्टर बनेका छन्। पहिलेपहिले मान्छेहरू रेस्टुरेन्टमा नयाँनयाँ खानाको परिकारको स्वाद चाख्न पुग्थे तर अचेल रेस्टुरेन्ट किशोरकिशोरीहरूको डेटिङ स्थल र मस्ती सेन्टरमा परिणतः हुन थालेको स्वयं व्यवसायी स्वीकार्छन्। केही महिनापहिले बुटवल प्रहरीले कलेज र विद्यालय पोसाकसहित रेस्टुरेन्टमा बियर र हुक्का तानिरहेका दुई सयभन्दा बढी जोडीलाई पक्राउ गरी अभिभावकको जिम्मा लगाएको थियो।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रूपन्देहीले व्यवसायीले आचारसंहिता पालना नगरिदिँदा समस्या उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेको छ। संगठनका अध्यक्ष रामचन्द्र रेग्मीले भने, ‘आचारसंहिताविपरीत चलेका केही रेस्टुरेन्ट र होटलका कारण हाम्रो समग्र व्यवसायमाथि प्रश्न खडा भयो। प्रशासनले गलत क्रियाकलाप गर्नेलाई कारबाही गर्नुपर्यो।’
संगठनले रेस्टुरेन्ट एवं होटलहरू नितान्त पारिवारिक हुनुपर्ने भन्दै आचारसंहिता बनाएको छ। तर यहाँका धेरैजसो होटलमा गलत क्रियाकलाप भएको देखिन्छ। केही महिनापहिले भैरहवाको देवकोटाचोकमा रहेको होटल जनप्रियका सञ्चालकलाई प्रहरीले यौन व्यवसाय चलाएको अभियोगमा पक्राउ गरी धरौटीमा छाड्यो। तर पनि उक्त क्षेत्रमा अहिले पनि त्यस्ता क्रियाकलाप रोकिएका छ्रैनन्। किशोरकिशोरीलाई लक्षित गरेर भैरहवामा धेरै रेस्टुरेन्ट खुलेका छन्।
कलेज तथा विद्यालय पोसाकमा गएर मध्यपान र धूमपान गर्ने तथा अश्लीलता प्रदर्शन गर्ने गरी विद्यार्थी रेस्टुरेन्टमा जान नहुने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डिएसपी कुमोद ढुंगेलले भने, ‘सामान्य खाजानास्ता खान जानु स्वाभाविक हो। तर कलेज पोसाकमै रेस्टुरेन्टमा गएर मात्तिन पाइँदैन। त्यसो गरेको पाइएमा रेस्टुरेन्ट सञ्चालक र विद्यार्थीलाई समेत कारबाही हुन्छ।’ यस विषयमा तत्काल अनुसन्धान गर्ने र कानुनविपरीत गरेको पाइएमा तत्काल कारबाही हुने जानकारी उनले दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४