काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहमति विपरित चिकित्सा शिक्षा विद्येयक पारित गर्न लागिएको भन्दै संसद अवरुद्ध गरेको छ ।
सोमबार साढे १२ बजे सुरु भएको बैठक कांग्रेसले अवरोध गरेपछि २५ मिनेटमै बैठक स्थगित भएको हो । कांग्रेसले मेडिकल माफियालाई पोस्ने गरि विधेय फिर्ता नलिएसम्म बैठक चल्न नदिने चेतावनी दिएको छ ।
संसद्को सुरुमै बोल्दै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सहमति विपरित विधेयक पास गर्न खोजे सह्य नहुने चेतावनी दिएका थिए । उनले गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा अस्पताल खोल्ने निर्णय सच्याउन समेत आग्रह गरेका थिए ।
उनले आफूहरुको माग पुरा नभए संसद चल्न नदिने उनले चेतावनी दिएका थिए । उनी बोले लगतै काग्रेसका सांसदहरु उभिएर संसदमा विरोध जनाएका थिए । केहीबेरको विरोधपछि सभामुखले बैठक नै स्थगित गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४