वीरगंज- राजमार्ग स्तरोन्नतिको ठेक्का पाएका निर्माण कम्पनीको लापरवाहीका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।
सडक निर्माणको क्रममा धुलाम्ये भएको सडकको उचित व्यवस्थापन नहुँदा सर्वसाधारणको स्वास्थ्यमा समेत नकारात्मक प्रभाव परेको छ ।
दिनभरी धुलो उड्ने भएकोले राजमार्ग छेउको मानवबस्ती र बटुवा नराम्ररी प्रभावित भएको रामगढवाका बासिन्दा रामनिवास देहातिले गुनासो गरे । वीरगंज महानगर अन्तर्गत एकीककृत जाँच चौकीदेखि परवानीपुर सम्मको सात किलोमिटर सडकको स्तरोन्नती कार्य जारी छ ।
यो सडक खण्डको निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले धुलो उड्न नदिन नियमित रुपमा पानी छर्किनु पर्ने भएपनि नगरेकोले धुलोयुक्त हावामा श्वास फेर्न बाध्य रहेको स्थानीय बासिन्दाले गुनासो गरे । धुलोका कारण सुख्खा बन्दरगाह, अलौं, रामगढवा,सौराहा, जगरनाथपुर, परवानीपुरका बासिन्दा सबैभन्दा बढी प्रभावित हुन पुगेका छन् ।
यसैगरी बारामा निर्माणधीन हुलाकी राजमार्गमा धुलोका कारण सवारी साधन सञ्चालनमा कठिनाई भइरहेको चालकले गुनासो गरे । दिउँसो सवारी चल्दा उड्ने धूलोको मुस्लोले आसपासको बस्तीसमेत धुलोको कुहिरोले ढाक्ने गरेको छ ।
सडकमा उडेको धूलोले सवारी साधन नै देख्न नसकिने हुँदा सडक दुर्घटनाको खतरा बढ्दो छ । बाटोको स्तरोन्नति तथा निर्माण कार्य भइरहेको हुँदा माटो काटेर मिलाउने क्रममा सवारी चल्दा धूलो उड्ने निर्माणमा संलग्न कामदारहरुको भनाई छ ।
धूलो व्यवस्थापनको लागि कलैया उपमहानगरपालिका ट्यांकरको सहयोगमा धुलाम्ये सडकमा पानी हाले पनि पर्याप्त नभएको स्थानीय व्यापारी रामबाबु साहले बताए । उनले धुलोकै कारण पसलको व्यापार नराम्ररी प्रभावित भएको गुनासो गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४