काठमाडौँ- संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष पदका लागि नाम सिफारिश गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेललाई सिफारिस गरेको छ । यस्तै राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा प्यूठानका शान्तराज सुवेदीलाई सिफारिस गरिएको छ ।
मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजयकुमार दत्तको नाम सिफारिश गरिएको परिषद्का सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी, परिषद्ले थारू आयोगको अध्यक्षमा बर्दियाका विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा काठमाडौँका समिम अन्सारीको नाम सिफारिश भएको छ ।
यी पाँचै आयोग नयाँ संविधान जारी भएपछि बनेका नयाँ आयोग हुन् । संविधानमा उल्लेख गरिएका यी आयोगहरुमा तीन वर्षपछि बल्ल अध्यक्ष नियुक्त गरिएको हो । यद्यपी अझै प्रत्येक आयोगमा रहने ४ जना सदस्य नाम भने परिषद्ले टुङ्ग्याउन सकेको छैन् । जसले गर्दा आयोगहरु अझै अपूर्ण नै रहने भएका छन् ।
सरकारले गत ५ भदौमा रिक्त रहेका विभिन्न ८ वटा संवैधानिक आयोगमा अध्यक्षसहित चार–चार सदस्यको पद पूर्ति गर्न सूचना निकालेको थियो । संवैधानिक व्यवस्थाअनुसार आयोगको अध्यक्ष वा सदस्य पदसँग सम्बन्धित क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको, मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक उत्तीर्ण गरेको, ४५ वर्ष उमेर पुगेको, नियुक्ति हुँदाका बखत कुनै राजीतिक दलको सदस्यता नलिएको हुनुपर्ने लगायतका प्रावधानहरू छन् ।
नेपालको संविधानअनुसार संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक आयोगका अध्यक्षको पद तथा गोपनीयताको शपथ गरिने व्यवस्था छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४