काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
नयाँ पत्रिका र कान्तिपुर दैनिकले डा गोविन्द केसीको अनशनलाई वेवास्ता गर्दै सरकारले चिकित्सा शिक्षा विद्येयक पारित गर्न लागेको विषयलाई मुख्य समाचार बनाएका छन् ।
अन्नपूर्ण पोस्ट्ले भने पशुपतिनाथको ११ सय बिघा गायब शीर्षकमा मुख्य समाचार छापेको छ । नागरिक दैनिकले पूर्वाधार विकास बैंकबाट डा. विमल कोइरालालाई बर्खास्त गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।
डा केसीको अनशन र चिकित्सा शिक्षा विद्येयक पारितको तयारी
नयाँ पत्रिकाले अनशनलाई बेवास्ता गर्दै विद्येयक पारित गर्ने तयारी शीर्षकमा मुख्य समाचार छापेको छ । उसले डा केसीको विरोधकाबीच चिकित्सा शिक्षा विद्येयक संसद्को आजका कार्यसूचीमा रहेको उल्लेख गरेको छ । उसले सरकारले गरेको सम्झौता र विद्येयकमा के के अन्तर छ भन्ने विषयलाई पनि प्रस्टसँग प्रकाशित गरेको छ ।
यसै विषयलाई प्राथमिकतामा पार्दै आजको कान्तिपुर दैनिकले चिकित्सा शिक्षा विद्येयक आजको कार्यसूचीम, हुबहु पारित हुनुपर्छः सक्षापक्ष, संसद् अवरुद्ध गछौँः प्रतिपक्ष शीर्षकमा खबर छापेको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन माग गर्दै डा. गोविन्द केसी आमरण अनशन बसिरहे पनि प्रतिनिधिसभाले सोमबार उक्त विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ ।
शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र त्यसपछि उक्त विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले बनाएको हो । कार्यसूचीअनुसार विधेयक पारित गर्ने रणनीति सत्तापक्षको छ भने प्रमुख प्रतिपक्षी कांग्रेस संसद् बैठक अवरोध गर्ने तयारीमा छ ।
कांग्रेसले गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न लागेको विषय संसद्मा उठाउने तयारी गरेको छ ।
पशुपतिनाथको ११ सय बिघा गायब
आजको अन्नपूर्ण पोस्ट्ले पशुपतिनाथको जग्गामा भएको घोटालाको विषय सार्वजनिक गरेको छ । रौतहट, सर्लाही, सिराहा र पर्सामा ११ विघा जग्गा जमिन छ तर त्यो गायव सरह भएको समाचारमा उल्लेख छ ।
राजा त्रिभुवनले आफूलाई दूध खुवाएबापत बुबु बडामहारानी (धाई आमा) लाई तराईका ४ जिल्लामा ११ सय बिघा जग्गा बिर्ता दिएका थिए । निःसन्तान बुबु बडामहारानीले जीवनको आखिरी अवस्थामा त्यो जग्गा पशुपतिनाथ (श्री) का नाममा दान गरेकी थिइन् । त्यसको अभिलेख सनद, सवाल, लालमोहर, शिलापत्र, ताजपत्र, भोजपत्र, ताडपत्र आदिमा रहेको कोषले जनाएको छ ।
यति ठूलो परिमाणको जग्गा गायब पारिएको धेरै वर्ष भने भएको छैन । २०४२ सम्म हकभोग गर्नेहरूले यसको तिरो (कुत) तिरेका थिए । विस्तारै त्यो क्रम रोकियो । २०४४ मा पशुपति क्षेत्र विकास कोष स्थापनापछि भने तिर्ने क्रम ठप्प भयो । कोषले जग्गा छ भन्नेसम्म मतलब गरेन । अभिलेखमा राखेन । अचम्म त यो छ– यसको स्रेस्ता न कोषसँग छ, न मालपोत, न गुठीसँग ।
पूर्वाधार विकास बैंकबाट कोइराला बर्खास्त
नागरिक दैनिकले युवराज खतिवडाको दबाबमा पूर्वाधार विकास बैंकका अध्यक्ष डा. विमल कोइरालालाई बर्खास्त गरिएको विषयलाई मुख्य समाचार बनाएको छ । बैंक स्थापनाका लागि सबै प्रक्रिया पूरा भएर राष्ट्र बैंकबाट अनुमति लिने क्रममा रहेका बेला कोइरालालाई पदबाट हटाइएको हो।
गत बुधबारको सञ्चालक समिति बैठकले उनलाई हटाउने निर्णय गरेको थियो। बैंकका अध्यक्षमा अनुज अग्रवाल नियुक्त भएका छन्। बैंक स्थापना गर्ने काममा अहोरात्र खट्दा पनि आफूलाई हटाइएको भन्दै कोइरालाले दुखेसो गरेको समाचारमा उल्लेख छ ।
सरकारको १० प्रतिशत सेयर र निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता भएको पूर्वाधार विकास बैंकलाई सरकारले आफू अनुकूल व्यक्तिलाई नियुक्त गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४