काठमाडौं- संसारका धनी मुलुकहरूको क्लब मानिने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्।
स्वीट्जरल्यान्डको डाभोसमा माघ ८ देखि ११ गतेसम्म हुन लागेको विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री आइतबार बेलुका प्रस्थान गरेका हुन्।
उक्त वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालय जनाइएको छ। पहिलोपटक प्रधानमन्त्री ओलीले सो बैठकमा सहभागिता जनाउन लागेका हुन्। स्वीट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नेछन्।
विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कूटनीतिक क्षेत्रका तीन हजार बढी सहभागी हुने मञ्चमा नेपालको यो पहिलो औपचारिक सहभागिता हो। लामो राजनीतिक अस्थिरतापछि विकास र समृद्धिको बाटोमा पाइला चाल्दै गरेको नेपालका लागि यो स्वर्णीम अवसर भएको अर्थशास्त्रीहरू बताउँछन्।
भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा र उच्चअधिकारी रहनेछन्। प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल यही माघ १२ स्वदेश फर्कने परारष्ट्र मन्त्रालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४