जनकपुरधाम- समाज हरेक दृष्टिकोणबाट विकसित भइरहेको छ। छुवाछुत, उपल्लो, तल्लोजस्ता समाजमा रहेको कुरुती, कु-प्रथाहरु विस्तारै विस्तारै न्यूनीकरण हुँदैछन्। तर वर्षौंदेखि तराई मधेशमा जकडिएर रहेको दाइजो प्रथा अझै अन्त्य हुन सकेको छैन्।
दाइजो प्रथाकै कारण तराई मधेशको समाजिक परिवेशमा छोरी भएर जन्मनु अझै अभिषाप नै मानिन्छ। हुनेखानेलाई सार्है समस्या नपरेपनि कमजोर आर्थिक अवस्था भएकाहरुका लागि छोरीको विहेबारी गर्न दाइजो ठुलो चुनौतीको रुपमा देखिएको छ।
हुन त दाइजो प्रथा अन्त्यगर्न कानुनहरु नबनेका होइनन्। विगतको मुलुकी ऐन र हालको अपराध संहिताले पनि दाइजो लिनेदिने दुबैलाई कारबाहीको भागिदार बनाइने भनेको छ। तर, उजुरी र प्रमाणको अभावमा कानुन प्रभावकारी सिद्ध हुन सकिरहेको छैन्।
पछिल्लो पटक जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने सीमा शर्माले पनि दाइजोकै लागि आफ्नो ज्यान गुमाउनु परेको छ। सीमामात्र होइन उनकी २ वर्षीया अवोध छोरीपनि उनीसँगै यस दुनियाँबाट गएकी छिन्।
महोत्तरीको लोहारपट्टी नगरपालिका-७ भ्रमरपुरा घर भएकी सीमाको २०७० साल वैशाख ११ गते महोत्तरीकै हलखोरी गाउँ बस्ने समिर मिश्रसँग परिवारकै राजीखुशीले विवाह भएको थियो।
समिरका बुबाको घर जनकपुरमा समेत रहेकोले विवाहपछि सीमापनि जनकपुरनै बस्दै आइरहेकी थिइन्। विवाह भएको एक वर्षसम्म सबैकुरा ठिकठाकै रहेपनि दोस्रो वर्षदेखि सीमामाथि दाइजो ल्याने दबाब बढ्न थाल्यो।
माइतीबाट दाइजो ल्याउने दबाब थेग्न नसकेपछि अन्ततः सीमाले मृत्यु रोजिन्। र, ३० पौषमा आफ्नै दुई वर्षिया छोरी गौरीलाई विष खुवाएर आफूले पनि विष सेवन गरिन्। सीमा र गौरी अब यस संसारमा छैनन्। उपचारका लागि अस्पतालमा भर्ना गरिएपनि डाक्टरहरुले उनीहरुको ज्यान बचाउन असफल भए।
सीमाका श्रीमान् समिर एरिस्टो कम्पनीमा ‘मेडिकल रिप्रन्जेटेटिभ’ को रुपमा बुटवलमा कार्यरत छन्। छुट्टी मिलाएर आफ्नो घर जनकपुर आउने गरेका उनी सीमा र छोरी गौरीको मृत्युपछि फरार भएका छन्।
सामान्य आर्थिक अवस्था रहेको सीमाका बुबा जयनारायण शर्मा वैदेशिक रोजगारको सिलसिलामा खाडी मुलुक बस्दै आएका थिए। एकमात्र छोरी सीमा भएकाले उनले विहेबारीपनि धुमधामका साथै गरे।
सीमाको विहेगर्न गाउँको सात कठ्ठा जग्गा बेचेर उनले ८ लाख नगद, २ लाख २५ हजार पर्ने मोटरसाइकल तथा सुनचाँदीका गहना केटा पक्षलाई दिएको भाइ सुजित शर्माले बताए। विहे गर्दा सीमाको ससुरा पक्षले मागेअनुसार दाइजो दिँदापनि उनीहरुलाई सन्तोष भएन। र, दाइजो ल्याउन पटकपटक सीमालाई उनीहरु दबाब दिँदै आएको सुजितको भनाइ छ।
सीमाको विहे भएको एक वर्षपछि भाइ सुजितको विहेबारी पक्का भयो। विहेमा आउन बहिनीलाई आउन भनेपछि सीमाकी सासुले छोरी सीमालाई डेढ तोलाको सुनको सिक्री दिएपछि मात्रै जान दिने बताएकी थिइन्। सिक्री दिन राजी भएपछिमात्र सीमालाई उनीहरुले आफ्नो विहेमा पठाउन तयार भएको सुजितले बताए।
सुजितको विहे भएको एक वर्षपछि सीमाले छोरी गौरीलाई जन्म दिइन्। गौरी तीन महिनाको हुँदा विदेशबाट फर्किएका सीमाका बुबाले माइती बोलाएका थिए। तर सीमाकी सासुले आफ्नो लागि पायल छोरी गौरीका लागि सुनको माला, चाँदीको बालाजस्ता गहना ल्याउन दबाब दिँदै नल्याए घरमा बस्न नदिने चेतावनी दिएको सुजित सुनाउँछन्।
यसबाहेक उनका सासुले पटकपटक माइतीबाट समान ल्याउन दबाब दिँदै सीमालाई शारीरिक र मानसिक यातना दिने गरेको उनको भनाइ छ। ‘पटकपटक दाइजो ल्याने दबाब थेग्न नसकेपछि हामीले प्रहरीमा उजुरी हाल्ने भनेका थियौं,’ भाइ सुजित भक्कानिँदै भन्छन,‘सीमाले उजुरी दिन मानिन्। विस्तारै सबै ठिक भइहाल्ने भन्ने गरिकी थिइन्। उजुरी दिएपछि परिवारको बदनामी हुने उसलाई लागेको थियो।’
दाइजोका लागि असन्तोषी बनेका ससुरा पक्षले केहि दिनअघि माइतीबाट वाशिङ मेसिन ल्यान दबाब दिँदै यातना दिने गरेको माइती पक्षका आरोप छ। यसका साथै व्यापार व्यवसाय गर्न श्रीमान् समिरले २÷३ लाख रुपैयाँसमेत माग्दै आएको सुजित बताउँछन्।
तर आफूहरुको आर्थिक अवस्थासमेत सामान्य रहेको हुँदा मागेअनुसारको नगद र समान दिन अस्वीकार गरेपछि सीमाको मृत्यु हुनुभन्दा एक दिनअघि कुटपिट गरेर दाँतसमेत भाँचि दिएको सुजितले बताए।
तर सीमाका माइती पक्षबाट लगाइएका यी सबै आरोपलाई ससुरा पक्षले अस्वीकार गरेका छन्। जागिर छोडेर बसेका समिर काम गर्न बाहिर जाने सोच बनाएको र यसै विषयमा दुैबै जनाबीच सामान्य विवाद हुँदा आवेशमा आएर सीमाले विष सेवन गरेको समिरका भाइ शशि मिश्रले दाबी गरेका छन्। रक्तचाप कम भएर भ¥याङबाट लडेर सीमको दाँत उखेलिएको मिश्र बताउँछन्।
दाइजोको दबाब थेग्न नसकेर छोरी गौरीसहित सीमाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए। सीमालाई आत्महत्या गर्न बाध्य बनाइएको अनुसन्धानबाट देखिन आएको उनले बताए। आत्महत्या गर्न बाध्य बनाइएकोले प्रहरीले सीमाका ससुरा श्यामसुन्दर मिश्र र सासु किरण मिश्रलाई नियन्त्रणमा लिएको उनले बताए। फरार रहेका श्रीमान् समिरको पनि खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक थपलियाले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४