बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली-प्रचण्डले मुन्टो बटारेपछि नेकपाको शक्तिशाली कार्यदल अलपत्र 

ओली-प्रचण्डले मुन्टो बटारेपछि नेकपाको शक्तिशाली कार्यदल अलपत्र 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - नेकपा केन्द्रीय कार्यालयमा शनिबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य योगेश भट्टराईबीच गजबको जम्काभेट भयो। यसकारण गजबको थियो कि त्यो भेट पुस २४ पछिको पहिलो थियो। नेकपामा एकीकरणको मापदण्ड मिलाउन स्थायी समितिले गठन गरेको कार्यदलका सदस्य रहेका यी दुवै नेताबीच केहीबेर चलेको संवाद रोचक मात्र थिएन, व्यंग्यात्मक पनि रह्यो। 

‘माघी मनइयो त मुख्यमन्त्रीजी ?’ पोखरेललाई भट्टराईको प्रश्न थियो। मुस्कुराउँदै पोखरेलले जबाफ फर्काए, मनाइयो नि, मुख्यमन्त्री भएपछि सरिक हुनुपरेन ?’
दुई नेताको संवाद सरल देखिए पनि यसभित्रको जटिलताको रहस्य खुलेको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्यदलको बैठक टार्न पोखरेल माघी उत्सवमा सहभागी भएको विषयमा भट्टराईले व्यंग्य गरेका थिए। कार्यदल सदस्य भट्टराई माधव नेपाल निकट हुन् भने पोखरेल ओली निकट हुन्।

नेकपामा एकता प्रक्रिया जटिल भएपछि पुस १३ गते बसेको स्थायी समिति बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन्। 

कार्यदललाई एकताबारे आवश्यक मापदण्ड तयार गरेर अध्यक्षद्वयलाई पुस २५ भित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको थियो। तर माघ पहिलो सातासम्म पनि कार्यदलले प्रतिवेदन बुझाएको छैन। स्रोतका अनुसार अहिलेसम्म कार्यदलको ६ पटक बैठक बसिसकेको छ। तर दुई घन्टाभन्दा बढी छलफल हुन नसकेको एक नेताले बताए। कार्यदलले तयार गरेको मापदण्डमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सन्तुष्ट नभएपछि कार्यदल नै अलपत्र परेको बताइएको छ।
 
कार्यदलमा सचिवालयले गरेका कतिपय विधिसम्मत नभएका निर्णय पनि उल्टाउने सहमति भएको थियो।  तर कतिपय निर्णय उल्टाउँदा नेताहरु नै यसप्रति उदासीन रहेको बताइएको छ। नेकपाको नयाँ विधानमा प्रदेश कमिटी सदस्यका लागि पार्टी सदस्यता प्राप्त गरेको ६ वर्ष बितेको वा दुईपटक जिल्ला कार्यसमितिमा  रहिसकेको हुनुपर्नेछ।  यो अवधि कम्युनिस्ट पार्टीमा काम गरेका लागि मात्र जोडिन्छ। तर प्रदेश ५ बाट प्रदेश कमिटी सदस्य बनाइएकी कोमल वलीको विषयमा कार्यदलमा निर्णय उल्टाउने प्रस्ताव सदस्यहरुले गरेका थिए। 

उनी राप्रपाकी पूर्वकेन्द्रीय सदस्य हुन्। बहसमा कार्यदल सदस्यहरुले यीलगायतका मापदण्डबिनाका कुरा अगाडि बढाएपछि महासचिव विष्णु पौडेलले अध्यक्षलाई सोधेर जबाफ दिने बैठकमा जानकारी गराएका थिए। पुस २४ को बैठकमा यस विषयमा अध्यक्षहरुले नमानेको कुरा महासचिवले जानकारी गराए। सोलगत्तै कार्यदल सदस्य शंकर पोखरेल माघी मनाउन भन्दै बैठक छाडेर हिँडेका थिए। 

यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदललाई बालुवाटार डाकेर पटकपटक निर्देशनसमेत दिएका थिए। नेकपामा कार्यदल गठन नौलो अभ्यास होइन, यो पुरानोकै निरन्तरता हो। नेकपाले यसअघि कात्तिक ८ गते पनि एकीकरणकै काम टुंगो लगाउन महासचिव पौडेल र रामबहादुर थापा दुई सदस्य रहेको कार्यदल गठन गरेको थियो। कार्यदलले प्रदेश कमिटीलाई पूर्णता दिएको थियो। नवगठित कार्यदलले जिल्ला र स्थानीय तहको एकीकरणको बाँकी काम टुंग्याउने गरी प्रस्ताव तयार पार्ने अधिकार पाएको थियो।

यसअघि नै सचिवालयमा समझदारी भए मुताबिक वरीयता, योग्यता क्षमता र साविक एमाले र माओवादी केन्द्र दुवै पार्टीको सन्तुलनलाई आधार बनाएर एकीकरणको प्रस्ताव तयार पारिने कार्यविधि बनाइएको थियो कार्यदललाई पुस मसान्तभित्र प्रस्ताव तयार पार्न समय निर्धारण गरिएको थियो।

त्यस्तै जिल्ला इन्चार्ज, सहइन्चार्ज तोकेर केन्द्रीय सदस्यहरूको कार्य विभाजनको मोटामोटी खाका तयार पार्नेछ। यस्तै जिल्ला अध्यक्ष र सचिवालयको  कार्यविभाजन पनि यही कार्यदलले टुंग्याउने क्षेत्राधिकार तोकिएको छ। 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई ‘नेकपा’ भएको आठ महिना पुग्दैछ। पार्टी एकताको बाँकी काम टुंगो लगाउन १२ पुसमा सम्पन्न स्थायी कमिटी बैठकले गठन गरेको कार्यदलले समयमै काम गर्न नसकेपछि हजारांै नेताकार्यकर्ता अलमलमा परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।