रत्ननगर- सुगम जिल्लाको दुर्गम बस्तीको रूपमा परिचित ठोरी गाँउपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट चल्ने रेल सेवा तीन वर्षदेखि बन्द भएपछि स्थानीयवासी मर्कामा परेका छन्।
यहाँ उत्पादित लाखौँ रुपैयाँको फलफूल तथा अन्नबालीको मुख्य बजार पश्चिम चम्पारणको नरकटियागञ्जसम्म पुग्ने सवारी छोटी लाइन रेल बन्द भएपछि स्थानीयवासी समस्यामा परेका हुन्। ठोरीमा चार दशकदेखि छोटी लाइन रेल सञ्चालनमा थियो।
भारत सरकारले सन् २०२० सम्म भिखना ठोरीदेखि नरकटियागञ्जसम्म वडी लाइन विस्तार गर्ने योजनासहित रेलको लिक निर्माण गर्ने कामलाई अगाडि बढाइरहेको छ। 'भारतीय व्यापारी घरघरमै फलफूल किन्न आउँथे', ठोरी-१ का कृषक चन्द्रबहादुर बोहोराले भने, “रेल चल्न छाडेपछि गाउँमै बाँडेर फलफूल सक्नुपर्ने अवस्था छ । हामी जस्ता कृषकलाई जीविका चलाउनै गाह्रो हुन थालेको छ।'
ठोरीमा उत्पादन हुने रुख कटहर, भूइँ कटहर, आँप, लिच्ची, केरा भारतीय बजारमा बढी माग हुने गरेको थियो। यहाँका मानिस कृषि उत्पादन बिक्री गर्न, उपचार गर्न, दैनिक उपभोग्य सामान खरीद गर्न तथा सदरमुकाम वीरगञ्जसम्म पुग्न पनि रेलको प्रयोग गर्दथे।
रेलको ठाउँ भनेर चिनिने गरिएको ठोरीमा यहाँको सीमावर्तीबाट चल्ने सवारी रेल, मालबाहक रेल सञ्चालनमा छैनन्। रेल बन्द भएकै कारण यहाँका कृषकले फलफूलका बिरुवा रोप्न छाडेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४