काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुईजना मृत फेला परेका छन्।
थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चण्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल सोही घरमा काम गरी बस्ने २८ वर्षीया अन्जना तामाङ मृत फेला परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अन्जनाको टाउकोमा चोट रहेको छ। प्रहरीले ढोका फोडेर हेर्दा नागरिक परमनारायण र अन्जना दुवै मृत अवस्थामा भेटिएका थिए। अहिलेसम्मको अनुसन्धानले अन्जनाको हत्यापछि भारतीय नागरिक परमनारायणले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।
ढोका बाहिरबाट ताला लगाएको र भित्रबाट समेत चुकुल लगाएको अवस्थामा थियो। एउटा ढोकामा बाहिरबाट चाबी लगाएर अर्को ढोका वा झ्यालबाट परमनारायण भित्र प्रवेश गरेको हुन सक्ने देखिएको प्रहरीले बताएको छ। बाहिर रहेको सीसी क्यामेराको फुटेज हेर्दा कोही शंकास्पद व्यक्तिको आउजाउ देखिएको छैन।
घटनास्थलमा ३ वटा किटनाशक विषादीका बट्टा भेटिएको बताइएको छ। परमनारायणले उक्त घरमा ४ वटा कुकुर पालेका थिए। जसमध्ये एउटा कुकुर उनीहरूसँगै त्यही कोठामा मृत भेटिएको छ।
परमनारायणकी श्रीमती फ्रान्समा बसोबास गर्ने र अन्जनाका श्रीमान् वैदेशिक रोजगारीमा खाडी मुलुकमा बस्ने गरेको पाइएको छ। परमनारायण आफैंले जागिर दिएर राखेकी अन्जनासँग विवाहत्तेर सम्बन्ध रहेको र त्यसमा दरार आएपछि हत्यादेखि आत्महत्यासम्मको स्थितिमा पुगेको प्रहरी अनुमान छ।