शुक्रबार, असार ५, २०८३

मैवाखोलामा श्रमदानबाट काठेपुल निर्माण थालियो

 |  आइतबार, असार १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार १, २०८२

ताप्लेजुङ- मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ। मैवाखोला-४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेबल काठेपुल निर्माण सुरु गरिएको हो।

National life

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइ र स्थानीय समुदायको सहभागितामा श्रमदान अभियानमार्फत पुल निर्माण थालिएको पालिका कार्यालयले जनाएको छ। करिब तीन लाख ५० हजार रूपैयाँ बराबरको श्रमदान गरेर नेरुवाखोलामा काठे मोटरेबल पुल निर्माण हुने अध्यक्ष वनेमले जानकारी दिए।

पुल बनाउँदा प्रयोग हुने भ्याकु लोडर(मेसिन), ट्र्याक्टर र तारजाली गाउँपालिकाले उपलब्ध गराउने छ भने अन्य आवश्यक सामग्री सबै श्रमदानमार्फत जुटाइने उनले बताए। वनेमका अनुसार माङमाया खोलामा एक लाख ५० हजार रूपैयाँ बराबरको श्रमदानमार्फत अस्थायी मोटरेबल पुल निर्माण भइरहेको छ।

वर्षाको समयमा स्थानीयलाई आवागमनमा समस्या हुने भएकाले काठेपुल निर्माण गर्न थालिएको अध्यक्ष वनेमले उल्लेख गरे। सवारीसाधानसहित पैदल यात्री सहजरुपमा आउजाउ गर्न मिल्नेगरी अस्थायी काठेपुल निर्माण गर्न लागिएको उनको भनाइ छ।

काठेपुल निर्माण गर्न सो क्षेत्रका स्थानीय नागरिक, टोल विकास संस्था, युवालगायत सहभागी भएर पालिकाले विगतदेखि श्रमदान अभियान सञ्चालन गर्दै आएको छ। रासस

Shivam cement

प्रकाशित: Jun 15, 2025| 18:01 आइतबार, असार १, २०८२
प्रतिक्रिया दिनुहोस्