शनिबार, असोज १०, २०८३

मनसुनी हावा सक्रिय हुँदा अधिकांश स्थानमा वर्षा

 |  बिहीबार, जेठ २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

काठमाडौं- मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको हो।

महाशाखाका अनुसार मनसुनी हावा चलिरहेको, बंगालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको हो।

कोशी प्रदेशको इलाम, बागमती प्रदेशको काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं र चितवन, लुम्बिनी प्रदेशको प्युठान र रोल्पा, कर्णाली प्रदेशको सुर्खेत आसपासमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

इलाम आसपास र बर्दिया आसपासका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ। काठमाडौं उपत्यकामा शनिबारसम्म वर्षाको सम्भावना छ।

माहाशाखाले शुक्रबार बिहानसम्म कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ। साथै कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ।

महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नु तथा सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ।

प्रकाशित: Jun 12, 2025| 17:19 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्