जनकपुरधाम- सचिवलाई कुटपिट गर्ने मन्त्रीमाथि कारबाहीको माग राख्दै आन्दोलनमा उतरेका कर्मचारीहरुले आन्दोलन स्थगित गर्ने घोषणा गरेका छन्।
प्रदेश सरकारले घटना छानबिनका लागि समिति गठन गरिसकेको र समितिको प्रतिवेदनअनुसार दोषीलाई नियमानुसार कारबाही तथा पीडितलाई न्यायदिने प्रतिवद्धता जनाएको भन्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन धनुषाले आन्दोलन स्थगित गरेको हो।
आधिकारिक ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साहले जारी गरेको विज्ञप्तीमा प्रदेश सरकारले सकारात्मक जवाफदेहिता देखाएको भन्दै सरकारको यस निर्णयलाई स्वागतसमेत गरिएको छ।
प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाई कुटपिट गरेको भन्दै मन्त्रीलाई कारबाहीको माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए।
घटनाको ६ दिनपछि उद्योग, वन तथा वातावरण मन्त्री रामनेरश रायले पहिलो पटक गत शुक्रबार मुख खोलेका थिए। आफ्नै मन्त्रालयका सचिवमाथि कुटपिट भएपनि पाँच दिनसम्म कुनै सार्वजनिक अभिव्यक्ति नदिएका मन्त्री रायले शुक्रबार साँझ विज्ञप्ती जारी गरी छानबिन समितिको प्रतिवेदनअनुसार दोषीलाई कारबाही गरिने भन्दै कर्मचारीहरुलाई काममा फर्कन आग्रह गरेका थिए।
मन्त्री रायले जारी गरेको विज्ञप्तीको हवाला दिँदै आधिकारिक ट्रेड युनियन धनुषाले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको छ।
‘प्रदेश सरकारको अनुरोधात्मक भावार्थलाई आत्मसात गर्दै सेवाग्रहीको सरकारी सेवा उपरको पहुँच तथा सहज उपलब्धताको नैसर्गिक अधिकारलाई उच्च सम्मान गर्दै छानविन समितिको तथ्यपरक प्रतिवेदन र प्रतिवेदनअनुसार दोषीलाई कारबाही तथा पीडितलाई न्यायको अपेक्षासहित आजैको मितिदेखि आन्दोलन स्थगित गरिएको,’ विज्ञप्तीमा भनिएको छ।
साथै धरातलीय यर्थात भन्दा अन्यथा हुनेगरी शासकीय पूर्वाग्रहका साथ आउने प्रतिवेदन आफूहरुलाई स्वीकार्य नहुने विज्ञप्तीमा भनिएको छ।
सचिव विद्यानाथ असन्तुष्ट
यता निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले आन्दोलन स्थगित गर्ने निर्णयप्रति सचिव विद्यानाथ झा असन्तुष्ट देखिएका छन्। सचिव झाले सामाजिक सञ्जाल फेसबुकमार्फत ट्रेड युयिनको यस्तो निर्णयप्रति आपत्ति जनाउँदै शक्ति अगाडी घुँडा टेकेको प्रतिक्रिया दिएका छन्।
आफूसँग भएको घटना र विज्ञप्तीको भाषा कतै मेल नखाएको भन्दै झाले भनेका छन्, ‘तपाईंहरु शक्तिको अगाडी टिक्नु हुन्न मलाई थाह थियो। तर म हारेको छैन। मेरो संघर्ष जारी छ। म हार्नु भनेको यो घटनामा सत्य र सदाचार हार्नु हो।’
‘तपाईहरुको आन्दोलनभन्दा बढी उपलब्धि मैले एक्लैको संघर्षले प्राप्त गरिसकेको छु,’ झाले थपेका छन्, ‘तपाइसँग अन्याय भएको छ भनेर घटनाको पहिलो दिन नै मुख्यमन्त्रीज्यूले मलाई भनि सक्नु भएको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४