शुक्रबार, असार ५, २०८३

भेरी किनारमा जन्मे, कलिलो उमेरमा भेरीमै अस्ताए

 |  मंगलबार, जेठ २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०८२

भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका तीनैजना बालबालिकाको शव भेटिएको छ। जाजरकोटको नलगाड नगरपालिका-८ मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो तीन बालबालिका बेपत्ता भएका थिए।

National life

उनीहरु सबैको शव फेला परेको छ। बगेर बेपत्ता भएकामध्ये १२ वर्षीया आशा कुसारीको शव घटनास्थलदेखि ४ किलोमिटर दक्षिण नलगाड नगरपालिका–७ चापाखोला नजिक फेला परेको छ।

उनको शव बेपत्ता भएको तीन दिनपछि सोमबार बेलुकी ६ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। नलगाड नगरपालिका–८ मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेशको शव यसअघि फेला परेको थियो। सुरेन्द्रकै छोरी १२ वर्षीया आशा भने बेपत्ता थिइन्। 

उनीहरू तीनै जना गत शुक्रबार दिउँसो स्कुलबाट घर आएर नुहाउन भन्दै भेरी नदी पुगेका थिए। भेरी किनाराको बस्ती मन्मैमा हुर्केका उनीहरू पहिले पनि शरीर शीतल बनाउन भेरीमा पस्थे। शुक्रबार पनि त्यसैगरी भेरीमा हेलिएका थिए। सुरुमा आशाका भाइ महेश बगेका थिए। महेशलाई बचाउन भन्दै आशा र भगवती पनि भेरीमा गएका थिए। 

नदीमा तीन बालबालिका बगिरहेको सूचना पाउनासाथ रुकुम पश्चिमको इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा ९ जनाको प्रहरी उद्धारका लागि खटिएको थियो। प्रहरी टोलीले भगवतीलाई अचेत अवस्थामा उद्धार गरी आठबिस नगर अस्पताल पुर्‍याउँदा चिकित्सकले शुक्रबार दिउँसो मृत घोषणा गरेका थिए। 

Shivam cement

महेशको शव भने बगेको ठाउँबाट झन्डै ९ सय मिटर दक्षिणबाट सोही दिन बेलुका चार बजेतिर फेला परेको थियो।

घटनास्थल जाजरकोट र रुकुम पश्चिमको सीमा क्षेत्र हो। उनीहरू जाजरकोट क्षेत्रको मन्मैमा बस्दै आएका थिए। तीन बालबालिकाको मृत्युसँगै मन्मै शोकमा डुबेको छ।

प्रकाशित: Jun 10, 2025| 13:13 मंगलबार, जेठ २७, २०८२
प्रतिक्रिया दिनुहोस्