मंगलबार, जेठ २७, २०८२

बर्खा लागेपछि हरेक वर्ष बागमतीले गराउँछ उठिबास

 |  मंगलबार, जेठ २७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०८२

vianetvianet

सर्लाही- उत्तरमा चुरे सिरानी हालेको सर्लाहीको पश्चिममा रौतहटसँगको सिमाना बागमती नदीले छुट्टाएको छ । चुरेको खोच छिचोल्दै निस्कने बागमती बहावले वर्षाको समयमा नदी किनारका गाउँको उठिबास लगाउने गरेको छ । खोलामा बाढी आउँदा कैयौँ पटक थातथलो छाडेर भाग्नुपरेको अनुभव यहाँका स्थानीयको मानसपटलमा आज पनि ताजै छ । 

सर्लाहीको बसवरिया गाउँपालिका–२ मानपुरका ६५ वर्षीय रामसेवक महतोले प्रत्येक बर्खामा यहाँ बाढी आउने भन्दै मनसुन सुरु भएसँगै बाढीको त्रास बढ्न थालेको बताए । “वर्षा सुरु भएपछि रातभरि राम्रोसँग निन्द्रा लाग्दैन”, उनले भने, “गत वर्ष खोलाले दुई/तीन स्थानमा ड्याम फुटायो । पानी गाउँमा पस्न थालेपछि भागेर ज्यान जोगाएका थियौँ ।” आकाश गड्याङगुडुङ गर्न थालेपछि पशुचौपाया खोलेर गाउँतिर लाग्ने गरेको उनले अनुभव सुनाए ।

गत वर्ष बागमतीमा आएको बाढीले बसवरियाको मानपुर क्षेत्र, रामनगर गाउँपालिका र बलरा नगरपालिकाको पश्चिम दक्षिण क्षेत्र प्रभावित भएको थियो । वर्षाको भेल गाउँ र खेतमा पसेपछि स्थानीय विस्थापित भएका रामनगर–१ का वडाध्यक्ष दिनेश यादवले बताए । जिल्लाको दक्षिण क्षेत्रमा पुगेपछि बागमतीसँग मिसिने अन्य सहायक नदीले स्थानीयलाई दुःख दिने गरेको उनको भनाइ छ । 

रामनगर–१ छर्की टोलका विश्वनाथ मुखियाले गत वर्ष बागमती नदी गाउँ पस्दा एक साता बढीसम्म डुबानमा परेको जानकारी दिए । उनले भने, “फुसको छानो र खर लिपेर भित्ता बनाइएको घर बाढीले बगाइदिएपछि विस्थापित भएका थियौँ ।” उनलाई गत वर्षको दुःख सकिए पनि यस वर्ष उस्तै सास्ती बेहोर्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । “चुनावका बेला भोट माग्न आउने नेताको अनुहार देख्न नपाएको धेरै भयो, यो वर्षको बर्खामा बाढीले कति वितण्डा बच्चाउने हो भन्ने चिन्ता लाग्छ”, उनले गुनासो पोखे ।

चुरेको काखमा बागमती खुम्चिएर बगेको भए पनि जति जति दक्षिण गयो उति फैलिँदै गएको छ । नेपाल छाडेर भारत प्रवेश गर्ने स्थानसम्म पुग्दा बागमतीले आफ्नो क्षेत्र फैलाएर झन्डै तीन किलोमिटरभन्दा बढी फराकिलो बनाएको छ । “बागमतीमा आएको वर्षाको भेल खेलाबाटभन्दा बढी खेत र बस्ती हुँदै बग्ने गर्छ”, बलरा–१ का हरिशरण कापरले भने । बागमतीको बाढीले उनको गत वर्ष खाने अन्नसमेत बगाएर लगेको थियो ।

National life insurance

स्थानीय सरकारले समयमा बाढी रोकथामका लागि प्रभावकारी तयारी नगर्दा बर्सेनि सास्ती हुने गरेको उनको भनाइ छ । विपद् व्यवस्थापनका नाममा समस्या भइसकेपछि राहत वितरण गर्नुभन्दा समयमै  क्षति न्यूनीकरणका उपायबारे पहल गर्नुपर्नेमा उनले जोड दिए। खोलाले खोल्नसक्ने क्षेत्रमा बाँधको निर्माण तथा मर्मत, सम्भावित जोखिमको आङ्कलन र पूर्व तयारी गर्ने हो भने यस क्षेत्रका नागरिकले सधैँ बिचल्ली हुन नपर्ने उनको भनाइ छ ।

विपद् पूर्व तयारी गरिरहेको स्थानीय तहको दाबी
विपद् पूर्व तयारीमा स्थानीय पालिकाले सरोकार भएका निकायसँग छलफल गरी क्षति न्यूनीकरणको प्रयास थालिएको बताएका छन् । नागरिकको जिउधनको रक्षालाई पालिकाले पहिलो प्राथमिकतामा राखेको स्थानीयले जनप्रतिनिधिले बताएका हुन् ।

बलरा नगरपालिकाका प्रमुख रामा शङ्करप्रसाद कुशवाहाले सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा उद्धार स्वयंसेवक तालिम सञ्चालन गरिएको बताए । विपद्का समयमा स्थानीय युवा परिचालन गर्न सकिनेगरी सुरक्षाकर्मीलाई तालिम प्रदान गरिएको उनको भनाइ छ । 

“बाढी, डुबान तथा आगलागीका घटनामा स्थानीय युवा अगाडि हुन्छन्”, प्रमुख कुशवाहाले भने, “उनीहरूलाई हामीले सामान्य आत्मरक्षा र जिउधनको सुरक्षा अपनाउन सकिने उपायका बारेमा जानकारी दिनसके मात्र ठुलो जनधनको क्षति रोक्न सक्छौँ । सोहीअनुरूप सुरक्षा निकायसँग समन्वय गरेर तालिम प्रदान गरिरहेका छौँ ।”

गत वर्ष असारमा बागमतीमा आएको बाढीले जिल्लाका बलरा नगरपालिका, रामनगर, धन्कौल तथा बसवरिया गाउँपालिकाका अधिकांश वडा प्रभावित बनेका थिए । डुबानले यस क्षेत्रमा, खानेपानीको समस्या तथा शैक्षिक संस्था हप्तौँसम्म सञ्चालन हुननसकेको स्थानीय स्थानीय सञ्चारकर्मी जितेश यादवले बताए । 

नेपालबाट ठुलो क्षेत्रमा फैलिएर गएको बागमती नदीलाई भारतले सीमा क्षेत्रबाटै दुवैतर्फ ड्याम कसेर नियन्त्रण गरेको छ । जसले गर्दा स्वतन्त्र ढङ्गले पानी बग्न नपाउँदा वर्षाको बाढी नेपालतर्फ फर्कने गरेको हो । भारत सरकारले सीमा क्षेत्रमा निर्माण गरेको एसएसबी रोडका कारण चुरेबाट सुरु भएका खहरेले अवरुद्ध हुँदै नेपाली भूमिमा क्षति गरिरहेको स्थानीयको गुनासो छ । रासस

प्रकाशित: Jun 10, 2025| 07:27 मंगलबार, जेठ २७, २०८२
प्रतिक्रिया दिनुहोस्