वीरगन्ज – वीरगन्जको ट्राफिक व्यवस्थापनको लागी शंकर समूहले ट्राफिक आइल्यान्ड सहयोग स्वरुप प्रदान गरेको छ। शंकर समूहद्वारा जगदम्बा ग्रुपले प्रदान गरेको उक्त स्मार्ट ट्राफिक आइल्यान्डको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले शनिबार उदघाटन गरेका छन्।
जिल्ला ट्राफिक कार्यलय पर्साले आयोजना गरेको आइल्यान्ड हस्तांतरण कार्यक्रममा बोल्दै नगर प्रमुख विजय कुमार सरावगीले ट्रफिक व्यवस्थापनमा निजी क्षेत्रद्वारा गरिएको सहयोगको लागी धन्यवाद दिए।
उनले निजी क्षेत्रको सहयोगमै वीरगन्जको ट्राफिक व्यवस्थापन गर्दै स्मार्ट सिटिको अवधारणालाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे। विभिन्न चौकहरुमा चाहिने सबै आइल्यान्डहरु निजी क्षेत्रकै सहयोगमा छिट्टै स्थापना गरिने नगर प्रमुख सरावगीको भनाइ छ ।
वीरगन्जको घन्टाघर चोकमा ट्राफिक व्यवस्थापनको लागी शंकर समूहले प्रदान गरेको ८ लाख रुपैयाँ मूल्य पर्ने स्मार्ट ट्राफिक आइल्यान्डमा सोलारले अध्यारोमा आफैं बत्ती बल्ने प्राविधिक विशेषता रहेको छ।
घन्टाघरमा सम्पन्न भएको आइल्यान्ड हस्तांतरण कार्यक्रममा शंकर समूहका निर्देशक राजेश अग्रवाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल ,बडा अध्यक्षद्वय मनोज कुमार गुप्ता, राज किशोर प्रसाद, पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जारालगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४