शुक्रबार, असार ५, २०८३

चैते धान समर्थन मूल्यमा नबिकेपछि झापाका किसान निराश

 |  सोमबार, जेठ २६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०८२

झापा- सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि यहाँका किसानले तोकिएको मूल्यमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन्। सरकारको सक्रिय खरिद प्रक्रिया नहुँदा किसान दलाल र स्थानीय व्यापारीको भर पर्न बाध्य भएका छन्। 

National life

सरकारले यस वर्षका लागि चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८ सय रूपैयाँ तोकेको छ। झापाका किसानले एक हजार ५ सय रूपैयाँ प्रतिक्विन्टल मूल्य पाउन पनि मुस्किल परेको छ।

उक्त मूल्यमा बिक्री गर्दा हाम्रो लागत नै नउठ्ने बाह्रदशीका स्थानीय किसान मनकुमार सङ्ग्रौला बताउँछन्। सरकारले हामीले उत्पादन गरेको धान किनिदिने हो भने हामीलाई ठूलो राहत मिल्ने उनको भनाइ छ।

खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय विर्तामोडका प्रमुख राजबहादुर राईका अनुसार कम्पनीसँग धान सुकाउन आवश्यक मेसिनको अभाव भएकाले यस वर्ष चैते धान खरिद गर्न सकिने अवस्था छैन। तर, आगामी वर्षदेखि चैते धान खरिद गर्न सकिने व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए।

अर्जुनधारा नगरपालिका वडा नं ४ का किसान भीष्मप्रसाद हुमागाईँले सरकारले मूल्य तोके पनि त्यसअनुसार खरिद प्रक्रिया अगाडि नबढाएको गुनासो गरे। 'सरकारको उदासीनताका कारण व्यापारीले सस्तो मूल्यमा धान किनेर मनपरी नाफा लिइरहेका छन्', उनले भने, 'अर्को वर्षदेखि चैते धानको विकल्प खोज्नुपर्ने अवस्था आएको छ।'

Shivam cement

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार गत वर्ष झापामा २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको थियो। प्रतिहेक्टर पाँच दशमलव ८१ मेट्रिकटनका दरले एक लाख १६ हजार २ सय मेट्रिकटन चैते धान उत्पादन भएको उनले जानकारी दिए। रासस

प्रकाशित: Jun 09, 2025| 09:01 सोमबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्