तौलिहवा – शिवराज नगरपालिकाको चन्द्रौटामा प्रहरीले जङ्गली बँदेलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–३ बस्ने शिवप्रसाद चौधरी र वडा नं ४ का सहदेव चौधरी रहेको आज इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
परीक्षणका क्रममा शिवराज नपा–३ समितिचोकबाट लु ३१ प ५०९८ नं को मोटरसाइकलमा मृत बँदेल ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो। मृत बँदेलसहित नियन्त्रणमा लिएका दुई जनालाई आवश्यक कारवाहीका लागि गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटालाई बुझाइएको छ। पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख दुर्गाबहादुर कार्कीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४