एजेन्सी- पोर्चुगिज तथा इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सर्वाधिक ‘फिट’ खेलाडीको सूचीमा परेका छन् । अन्तर्राष्ट्रिय खेलकुद सञ्चार माध्यमले सार्वजनिक गरेको रिपोर्ट अनुसार रोनाल्डो सर्वाधिक फिट खेलाडीको सूचीको दोस्रो स्थानमा परेका हुन् ।
रोनाल्डो भन्दा अघि एनएफएल (अमेरिकन फुटबल) खेलाडी सकुन बार्क्ली रहेका छन् । २१ बर्षका बार्क्ली एनएफएल लिगमा उच्च प्रदर्शन गरिरहेका छन् । मात्र २१ बर्ष पुगेका बार्क्लीको शारीरिक क्षमता असाधारण र खेलको गती उच्च रहेको उल्लेख गरिएको छ ।
पोर्चुगिज रोनाल्डोको शारीरिक क्षमता, मांसपेशीको बनावट निकै बलियो रहेको अन्तर्राष्ट्रिय खेलकुद सञ्चार माध्यमले जनाएको छ । ३३ बर्षका रोनाल्डो आफ्नो उमेरभन्दा बढी क्षमतावान खेलाडी रहेको र उनले क्लबका लागि उस्तै प्रदर्शन गरिरहेको जनाएको छ । खेलको दौरान रोनाल्डोको गती उच्च रहेको समेत बताईएको छ ।
त्यस्तै सर्वाधिक ‘फिट’ खेलाडीको सूचीमा फुटबलबाट रोनाल्डो र मोड्रिच मात्र अटाएका छन् । रियल मड्रिड तथा क्रोएसियन कप्तान मोड्रिच १२ औं स्थानमा रहेका छन् । सर्बियन टेनिस स्टार नोभाक जोकोभिक चौथो स्थानमा रहेका छन् ।
सूचीको तेस्रो स्थानमा बास्केटबल खेलाडी जियानिस एन्टेटोकुन्पो रहेका छन् । यस्तै पाँचौ स्थानमा म्याराथन धावक केभिन मेयर रहेका छन् । सर्वाधिक ‘फिट’ खेलाडीको सूचीमा सर्वाधिक धेरै खेलाडी बास्केटबल र एथ्लेटिक्स खेलाडी रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४