हिमाली अनुहार अनि अनुहारमाथिको त्यो खुबै सुहाउने हिउँजस्तो हाँसो । जुन हाँसोले नेपालीपन अनि उनको फुटबलसँगको गहिरो सम्बन्ध झल्काउँछ । उनी खेलमैदानमा जस्तोसुकै परिस्थितिमा पनि मुस्कुराइरहने निडर खेलाडी हुन् । उनैको त्यो निडरताले मैदानमा भएका अन्य खेलाडीलाई पनि साहस मिल्ने गर्छ । उनी हुन्, नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ ।
धनकुटामा जन्मिएका २८ वर्षीय किरण हाल नेपाली फुटबलको राष्ट्रिय टोलीमा नछुट्ने खेलाडी हुन् । उनले खेलेका हरेक खेलमा आफ्नो छुट्टै छाप छाडेका छन् । १२ वर्षको उमेरमा विद्यालय स्तरको खेलमा स्ट्राइकरको पोजिसनबाट खेल्न थालेका किरण गाउँमै बस्ने दाइहरुको सल्लाहबाट गोलरक्षकको स्थानमा पुगे । हाइटले गर्दा पनि गोलरक्षकको स्थान उपयुक्त हुने सल्लाह उनले पाएका थिए ।

किरणलाई एकताका लाहुरे बन्ने रहर पलाइसकेको थियो । गाउँघरमा सबै लाहुरे भएको हुनाले घरबाट पनि लाहुरे बन्ने सल्लाह आएको थियो उनलार्ई । एन्फा एकडेमीमा भएका बेला उनले ब्रिटिस आर्मीका लागि धरानबाट फरामसमेत भरिसकेका थिए । जति बेला उनी१७ वर्षका थिए । त्यही बेला ब्रिटिस आर्मी बनाउने परिवारको सपना छोड्दै उनी अन्डर-१७ को राष्ट्रिय टोलीसँग सिंगापुर पुगे ।
‘मेरो जीवनमा एकैपटक दुईवटा अवसर आए । तर मलाई लाग्यो देशका लागि खेलकुद क्षेत्रमा योगदान दिनुजत्तिको मज्जा अरू केमा छ ?’ किरणले भने, ‘अनि म काठमाडौं फर्किएँ र नेपालका लागि फुटबल खेल्न अन्डर-१७ टोलीसँग सिंगापुर गएँ ।’
सानैदेखि राष्ट्रिय टोलीबाट फुटबल खेल्ने चाहना बोकेका किरणलाई उपेन्द्रमान सिंह, रितेश थापाजस्ता होनाहार फुटवल खेलाडीबाट प्रेरणा मिल्यो । नेपाली फुटबल टोलीका गोलरक्षक उपेन्द्रमान उनका प्रेरणा हुन् । किरण पाएसम्म उनको खेल हेर्न छुटाउँदैनथे । अनि आफु पनि त्यस्तै बन्ने अठोट गर्थे । त्यो अठोटलाई उनले साकार पारेरै छाडे ।
जब-जब विपक्षी आक्रमण प्रहारहरु बढ्दै जान्छन् तब-तब किरण पर्खालझैं बलिया बनेर उभिन्छन् । सानैदेखि फुटबलमा रुचि राख्ने किरणले १४ वर्षको उमेरमा धनकुटामा आयोजना भएको विद्यालयस्तरीय अन्डर-१६ च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । जहाँ उनले उच्च प्रदर्शन गरे र आफ्नो नयाँ जीवन सुरु गरे । त्यसपछि उनी काठमाडौं आए र एन्फा एकडेमीमा छिरे । नयाँ ठाउँ, नयाँ सहर किरणका लागि बेग्लै थियो ।

तर उनको खेल प्रदर्शन र जोशजाँगरमा कमी आएन । एन्फा एकडेमीमा प्रशिक्षण गर्दागर्दै उनी अन्डर-१७ र अन्डर-१९ नेपाली राष्ट्रिय टोलीमा परे । अन्डर-१९ मा देखाएको उनको उच्च प्रदर्शनले झनै उचाइ लियो । उनलाई सिनयर नेपाली राष्ट्रिय टोलीले स्वागत गर्यो ।
नेपालको झन्डा अंकित लोगो भएको जर्सी लगाएर मैदान छिर्दा बेग्लै अनुभूति हुने उनले बताए । ‘कुनै क्लबबाट खेल्न मैदान उत्रँदा कस्तो खेल्छु त्यो मलाई थाहा हुँदैन तर जब देशका लागि खेल्छु तब मेरो जिउज्यान देशका लागि समर्पित हुन्छ,’ किरणले भने ।
कमजोर आर्थिक स्थितिमा हुर्किएका किरणलाई राष्ट्रिय टोलीमा पर्न कुनै कुराले बाधा पुगेन । किनकि उनमा मेहनत, लगनशील र आत्मविश्वास थियो । जुन कुरा अन्य खेलाडीका लागि पनि उदाहरण बन्न सक्छ ।
सन् २०१३ देखि नेपाली राष्ट्रिय टोलिमा नियमित खेलाडिको रुपमा रहेका किरणले नेपाली फुटबल क्षेत्रमा आफ्नो बेग्लै छाप छोडेका छन्। नेपाललाई पहिलो पटक एसियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगिताको उपाधि जित्ने क्रममा गोलरक्षक किरण चेम्जोङको महत्वपूर्ण भूमिका रहेको थियो । यस्तै लाओसबिरुद्धको सेमिफाइनलमा तीन पेनाल्टी रोकेर नायक भएका उनी नेपाली टोलीका नम्बर एक गोलरक्षकका रूपमा स्थापित भएका छन् ।

एसियन गेम्स फुटबलमा जापानसँगको पहिलो खेलमा विपक्षको दबाबका बाबजुत पनि निकै उत्कृष्ट प्रदर्शन गरे । विश्वकप खेलमा उच्च प्रदर्शन गर्न सफल जापानसँग समेत उनले उच्च प्रदर्शन गरे । राष्ट्रिय टोलीका प्रमुख गोलरक्षकका रुपमा रहेका किरणले राष्ट्रिय टोलीलाई एएफसी सोलिडारिटी कप २०१६ जिताउन महत्वपूर्ण योगदान पुर्याएका हुन् । किरणले थ्री स्टार क्लबलाई २०१५ को लिग जिताउन पनि सफल भएका थिए ।
भारतको टिसी स्पोर्टसबाट व्यावसायिक फुटबल समेत खेलेका किरणले उक्त क्लबमा पनि उत्कृष्ट प्रदर्शन गरे । उनले टिसी स्पोर्ट्स क्लबलाई सेख कमल अन्तर्राष्ट्रिय कप २०१७ र गत वर्ष मिन्नरेभा पन्जाबबाट खेल्दै भारतको आई लिग उपाधि पनि जितेका थिए । यी दुवै प्रतियोगितामा उनले उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका थिए ।
किरण यसै वर्ष माल्दिभ्स फुटबल वर्षको उत्कृष्ट गोलकिपरको उपाधिसमेत जितेका छन् । उनले न्यु रेडियन्टका मोह्मम फेजल र क्ल्ब इगल्सका सुजन परेरालाई पछि पार्दै उपाधि जितका हुन् ।
किरणले टिसी स्पोर्टसलाई धिबेही प्रिमियर लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी क्लबले यस सिजनको लिग उपाधि जित्दा लिगको सर्वोत्कृष्ट गोलकिपरसमेत चुनिएका थिए । २०७३ सालमा किरणले नेपाल खेलकुद पत्रकार मञ्चबाट प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४