धनगढी- शुक्रबारबाट सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशनमा प्रदेश सभा सदस्यहरुले जनताले प्रदेश सरकार भएको अनुभुतिसमेत गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
प्रदेश सभाको तेस्रो अधिवेशनमा मन्तव्य राख्ने प्रतिपक्ष दलका सदस्यहरुले सरकार गठन भएको ११ महिना पुनै लाग्दा पनि जनताको पक्षमा देखिने गरी कुनै पनि काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन्।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदिय दलका नेता डा. रणबहादुर रावलले प्रदेस सरकारका मन्त्री जनताको पक्षमा काम गर्नुभन्दा पनि कार्यक्रम उद्घाटन र फुलमाला लगाउन मै व्यस्त रहेको आरोप लगाए। ‘प्रतिपक्षले सरकारलाई सहयोग गरेकै कारणले सरकार उदण्ड बनेको आरोप जनताले हामीलाई लगाईरहेका छन्’ रावलले भने–‘प्रदेश सरकार पनि छ भन्ने आभाष जनतामा छैन।’
प्रतिपक्षको सालिनताको फाईदा उठाउँदै सरकार मनपरी गरिरहेको उनको आरोप थियो। रातो कितावमा छनौट भएका योजना भन्दा मन्त्रालयमा थुप्रै योजना नयाँ बनिरहेको भन्दै रावलले सरकारका मन्त्री भन्दा बलिया तिनका स्वकिय सचिवहरु देखिन थालेको बताए। ‘रातो कितावमा भन्दा बाहिरका योजना तयार हुने काम भैरहेको छ यो अवैधानिक काम हो’ उनले भने,‘यस्तो भएमा परिणाम रामौ् हुनेवाला छैन।’
काँग्रेसका अर्का सदस्य भरतबहादुर खड्काले प्रदेश सरकारले हाल सम्म खर्च गरेको पुँजिगत खर्च र बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय दिन नसक्नुले नै सुदूरपश्चिमबासीको शिर निहुरिएको बताए। सरकारले प्रदेशको बजेट कसरी खर्च गर्ने भन्ने संयन्त्र नै निर्माण गर्न नसकेको भन्दै खडकाले सरकार कर्तव्यबिमुख हुँदा अराजकता बढेको अरोप लगाए।
प्रदेश सभाका सदस्य हुनुको काम र महत्व के हो भन्ने सरकारले बुझ्न नसेको भन्दै खडकाले सरकारकै कारणले प्रदेश सभा सदस्यको अपमान भइरहेको बताए। प्रदेश सरकारले छनौट गरेका योजनाहरु बिक्रि भैरहेको उनको भनाई थियो । प्रदेश सरकारका प्रमुख सचिवले पत्रकारको क्यामरा खोस्नु घोर आपत्तिजनक कार्य भएको खड्काले बताए।
राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सदस्य मालामती रानाले सरकार बिकासको बाटोमा हिड्न नसकेको आरोप लगाईन् । सरकारको काम कछुवाको गतिमा बढेको उनको भनाई थियो।
सभामा सत्तापक्षका सदस्यहरुले भने सरकारको बचाउ गर्दै सुरुको एक बर्ष सिकाईकै चरणमा रहेको बताए। नेकपामा प्रमुख सचेतक तारालामा तामाङले सरकारको बिरोध गर्ने समय भैनसकेको बताए। अर्का सदस्य बीरभान चौधरीले यो समय संविधान कार्यान्वयनको भएकाले दलहरुका बीचमा दोसारोपण गर्ने समय नभएको बताए। शिशु गणतन्त्रको घाँटी निमोठ्न नहुने भन्दै उनले त्यसलाई सस्थागत गर्नुनै आजको आवश्यकता भएको बताए। अर्का सदस्य मानबहादुर धामीले प्रदेशको बिकासका लागि सहकार्य जरुरी रहेको बताए । प्रदेश सभा बैठक माघ ११ गते दिउसो १ बजे बस्ने छ।
यो अवधिमा प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७५ बाहेकका अरु कुनै पनि विद्येयक दर्ता गराउन नसकेपछि विजनेस विना हिउँदे अधिवेशन सुरु हुन लागेको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४