इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जायन्ट्सले गुजरात टाइटनलाई ३३ रनले हराएको छ ।
गएरातिको खेल क्वालिफायर १ मा प्रवेशका लागि गुजरातका लागि महत्त्वपूर्ण थियो। पराजयका बाबजुद गुजरात १८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । लखनउ भने यसअघि नै आईपीएलबाट बाहिरिएको छ ।
गुजरातले अन्तिम खेल चेन्नई सुपर किङ्ससँग खेल्नेछ। दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर बंगलोरु र तेस्रो स्थानको पन्जाब किङ्सको १७ अंक छ । दुवैले गुजरातले भन्दा एक खेल कम खेलेका छन् ।
बिहीबारको खेलमा २३६ रनको लक्ष्य पछ्याएको गुजरातले ९ विकेटको क्षतिमा २०२ रन मात्र जोड्न सक्यो। गुजरातका साहरुख खानले २९ बलमा ५७ रनको योगदान गरे । सेरफाने रुदरफोर्डले ३८ तथा जोस बटलरले ३३ रन जोडे । साइ सुदर्शनले २१ तथा कप्तान शुभमन गिलले ३५ रन बनाए ।
लखनउका विल ओ रुकेले चार ओभरमा २७ रन खर्चेर तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले दुई विकेटको क्षतिमा २३५ रन बनाए । लखनउका लागि मिचेल मार्सले ६४ बलमा ११७ रन प्रहार गरे भने निकोलास पूरणले २७ बलमा ५६ रन जोडे । कप्तान ऋषभ पन्तले ६ बलमा १६ रन जोडेका थिए ।