चितवन – चितवन जिल्ला अदालतमा चालु आवको छ महीनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन्। चालु आवको छ महीनामा परेका एक हजार ४३८मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन्। सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा महिलाको सङ्ख्या बढी छ ।
कार्यालका सूचना अधिकारी केशव पौडेलका अनुसार अदालतमा आउने सम्बन्धबिच्छेदका मुद्दामा बढी मात्रामा वैदेशिक रोजगारबाट उत्पन्न समस्या रहेको पाइएको छ। श्रीमान् वा श्रीमती रोजगारीको सिलसिलामा विदेश जाने र फर्केर आएपछि सम्बन्धबिच्छेद गर्ने गरेको भेटिएको उनको भनानइ छ। यसबाहेक कक्षा १२ उत्तीर्ण गरेर वैदेशिक प्रयोजनका लागि मात्र वैवाहिक सम्बन्ध कायम गर्ने तर काम भए/वा नभएपछि सम्बन्धविच्छेद गर्ने परम्पराले पनि सम्बन्धबिच्छेदका मुद्दा बढेको उक्त कार्यालयले जनाएको छ।
नेपाल बार एशोसिएशनकी केन्द्रीय सदस्य इन्दु कोइराला नियम कानूनको सदुपयोग वा दुरुपयोग दुवै कारणले पनि सम्बन्धबिच्छेदका मुद्दा बढेको बताउँछिन्। वैवाहिक जीवनमा आइसकेपछि महिलामा पनि बढी महत्वकांक्षा हुने, कलिलो उमेरमै वैवाहिक सम्बन्ध कायम हुँदा परिपक्वता लिन नसक्नेलगायत कारणले सम्बन्धबिच्छेदका मुद्दा बढेको उनले उल्लेख गरिन्।
नयाँ कानुनमा पुरुषलाई पनि सम्बन्धबिच्छेदको दर्ता गराउन पाउने अधिकार दिएपछि यस्ता मुद्दाको सङ्ख्या बढेको सदस्य कोइरालाको भनाइ छ। अहिले सम्बन्धबिच्छेदकाका लागि निवेदन दिने पुरुषमध्ये २५ प्रतिशत वास्तविक पीडित रहेको भए पनि अन्य पीडित नभई दोस्रो विवाह गर्न चाहने, परस्त्रीगमनमा लागेका पुरुषका लागि पनि बाटो खुला भएको उनले बताइन्।
कार्यालका सूचना अधिकारी पौडेलका अनुसार अदालतमा परेका अन्य मुद्दा जालसाजी, सवारी दुर्घटना, लागुऔषध, चोरी, मानोचामललगायत छन्। अदालतमा चालू आवको हालसम्म एक हजार १३८ मुद्दाको फस्र्योट भइसकेको छ भने हर्ने बाँकी एक हजार ३७० मुद्दा छन्। यीमध्ये एक हजार ७० मुद्दा अघिल्लो आवका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४