काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको म्याद थप गरिएको विरोधमा नेविसंघका नेता कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेर धर्ना दिएका छन्। पटक–पटक म्याद थप गर्दा समेत बर्तमान कार्यसमितिले निर्वाचन गराउन नसकेको भन्दै उनीहरुले म्याद थपको विरोध गरेका हुन्।
मोटरसाइकल र्यालीसहित नेविसंघ जिन्दावादको नारा लगाउँदै देउवा निवास बुढानीलकण्ठ पुगेर दर्जनौं नेता–कार्यकर्ताहरुले म्याद थपको विरोध जनाएका हुन्। उनीहरुले देउवा निवास अगाडि धर्ना समेत दिएका थिए।
विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो। तर, कांग्रेसले तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिने जनाएको छ। पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिको म्याद थप्न नहुने नेविसंघका उपाध्यक्ष पुष्प कुमार शाहीले बताए।
नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो। थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो। महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद यही माघ २ गते सकिएको छ।
नेविसंघले हालसम्म ७७ जिल्लामध्ये १४ जिल्लाको मात्रै अधिवेशन सम्पन्न गर्न सकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४