एजेन्सी- रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा लेगानेससँग १-० गोल अन्तरले पराजित भएपनि रियल समग्रमा ३-१ को जितसहित अन्तिम आठमा पुगेको हो ।
लेगानेसको मैदानमा भएको दोस्रो लेगमा रियललाई पराजित गर्न मार्टीन व्रेथवेटले एक गोल गरेका थिए । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै दोस्रो लेगमा लेगानेसलाई जित दिालाएका थिए ।
तर, पहिलो लेगमा लेगानेस रियलसँग ३-० गोल अन्तरले पराजित भएकाले रियल अन्तिम आठमा पुगेको हो । एट्लेटिको मड्रिड भने जिरुनासँग अवे गोलको आधारमा पराजित हुदा कोपा डेल रे फुटबलबाट बाहिरिएको छ ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा ३-३ गोलको बराबरी खेल्दै समग्रमा खेल ४-४ को बराबरीमा सकिएपछि अवे गोलको आधारमा जिरुनाले अन्तिम आठको यात्रा तय गरेको हो । त्यस्तै सेभियाले कोपा डेल रे फुटबलको अन्तिम आठमा स्थान पक्का गरेको छ ।
बुधबार राति भएको दोस्रो लेगमा एथलेटिको बिल्बाओसँग १-० ले पराजित भएपनि समग्रमा ३-२ को जित सहित सेभिया अन्तिम आठमा पुगेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४