काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो बनेको रुस्लान थ्री स्टारले आफ्ना पूर्व दुई विदेशी खेलाडी अजायी मार्टिन र पिटर सेगुनमाथि कारबाहीको माग गरेको छ । लिगका दौरान अनुशासन विपरित काम गरेको भन्दै थ्री स्टारले द्धोय खेलाडीमाथि कारबाहिको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)मा निवेदन दिएको हो ।
लिगका दौरान मार्टिन र पिटर खेल मैदान समयमा टिममा नआएको र पुरस्कार वितरण लगायतका कार्यक्रममा समेत उपस्थित नभएको थ्री सरको आरोप छ । नाईजेरियन खेलाडी पिटर लामो समययता थ्री स्टारको सेन्टर डिफेन्डसको भुमिकामा निर्वाह गर्दै आएका थिए ।
त्यस्तै मार्टिनलाई गत बर्ष मात्रै थ्री स्टारले क्लबमा मुख्य स्ट्राईकरको रुपमा अनुबन्धन गरेको थियो । लिगको दौरान क्लबलाई धोका दिएको भन्दै थ्री स्टारले दुई विदेशी खेलाडीलाई कारबाही प्रक्रिया अघि बढाएको हो ।
लिगको समय पिटर र मार्टिनले मोफसलका प्रतियोगितामा अन्य क्लबबाट सहभागिता जनाएको प्रमाण प्राप्त भएपछि थ्री स्टार दुवै खेलाडीलाई कारबाही गर्ने निर्णयमा पुगेको हो । एन्फाले थ्री स्टारको निवेदनलाई संघको अनुशासन कमिटिमा पठाएको छ ।
कमिटिले गरेको सिफारिसका आधारमा दुई खेलाडीलाई कारबाही गर्ने एन्फाले जनाएको छ । लिगको समापनसँगै थ्री स्टारले राष्ट्रिय टिमका मिडफिल्डर निराजन खड्का र डिफेन्डर विष्णु सुनुवारलाई रिलिज गरिदिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४