काठमाडौं- विवेकशील साझा पार्टीले तेल र पानी एक हुन नसक्दा केही व्यक्तिहरू पार्टीबाट अलग भएको निष्कर्ष निकालेको छ । पार्टीको पुस ३० र माघ १ गते बसेको समीक्षात्मक बैठकले केही व्यक्तिले छापामार शैलीमा पार्टी फुटाएको ठहर गरेको छ।
बैठकपछि मंगलबार आयोजित पत्रकार सम्मेलन पार्टी प्रवक्ता सूर्यराज आचार्यले भने, ‘तेल र पानी एक हुन सकेन । त्यसैले केही साथीहरु छापामार शैलीमा अलग हुनुभएको छ। उनले पार्टीका तत्कालीन एकजना संयोजकले नियोजित रूपमा पार्टी फुटाउन खोजेको आरोप लगाउँदै सोही कारण केन्द्रीय समिति बैठकमा उपस्थित नभई नयाँ पार्टी दर्ता प्रक्रियामा गएको बताए।
पार्टीले फुटेर गएको उज्ज्वल थापाको समूहलाई पक्ष पुरानै शैली चल्न खोजेको, साझा एजेन्डा अंगीकार गर्न नसकेको, जनअपेक्षाविपरीत जान थालेको, देशभरका मानिसको चासो पार्टीको एजेन्डा बनाउन खोज्दा अस्वीकार गरेको जस्ता आरोप लगाएको छ । आचार्यले भने, ‘पार्टी एक भए पनि भावनात्मक रुपमा एक भएको थिएन । उहाँहरुले पुरानै ढाँचामा हुनुहुन्थ्यो ।’
पार्टीको पहिलो महाधिवेशन २०७६ फागुन १५ गतेदेखि १९ सम्म काठमाडौंमा हुने भएको छ।
यस्तै पार्टीका केन्द्रीय विभागको पुनर्गठन गरी विभिन्न नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरिएको छ । आचार्यका अनुसार कोष संकलनमा डा उमेद पुन, संगठनमा मुमाराम खनाल, अभियानमा किशोर थापा, नीति तथा कार्यक्रममा डा. सूर्यराज आचार्य, प्रशिक्षणमा केशव दाहाल, सञ्चारमा किरणकृष्ण श्रेष्ठ, सामाजिक न्याय तथा समावेशितामा प्रकाशचन्द्र परियार, कानुनमा निरूपमा यादव), उद्यमशीलतामा रमेश महर्जन, तथ्यांकमा राम साह, केन्द्रीय कार्यालयमा मानवी पौडेल तथा विदेश विभाग संयोजकमा रवीन्द्र मिश्र लाई दिने निर्णय भएको छ ।
पार्टीले प्रदेश नं १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ। यस्तै सुदूरपश्चिमबाट शैलु श्रेष्ठ, प्रदेश नं ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकीबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा मनोनयन गरिएको छ । उनीहरूले प्रदेशको सिफारिसमा केन्द्रीय सदस्यमा ल्याइएको पार्टीले जनाएको छ ।
युवा तथा महिला सहभागितालाई प्रवर्धन गर्न र तीव्रता दिन ‘विवेकशील साझा युवा संगठन’ र ’विवेकशील साझा महिला संगठन’ गठन गर्ने निर्णय भएको छ । युवा संगठनको जिम्मेवारी केन्द्रीय सदस्य अब्दुस मियाँ र महिला संगठनको जिम्मेवारी केन्द्रीय सदस्य सोभिता परियारलाई दिने निर्णय भएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पार्टीले पेसागत र व्यावसायिक भ्रातृ संगठन भने निर्माण नगर्ने प्रतिबद्धतामा जोड दिएको छ।
पार्टीमा देखापरेका पछिल्ला चुनौती र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ १२ गते काठमाडौंमा देशभरका पार्टी प्रतिनिधि सदस्यहरुसहित ‘विवेकशील साझा राष्ट्रिय सन्देश भेला’ को आयोजना गर्ने निर्णय गरेको प्रवक्ता आचार्यले बताए । उनका अनुसार माघ १३ गते राष्ट्रिय सभागृहमा ‘विवेकशील साझा ः अबको बाटो’ शीर्षकमा सार्वजनिक कार्यक्रम आयोजना गरिने भएको छ।
पार्टीले केही महिनाअघि सुरू गरेर बीचमा अवरूद्ध संगठन विस्तार तथा प्रशिक्षण अभियानलाई पुनः जिल्ला स्तरबाट क्रमशः स्थानीय तहसम्म पु¥याउने निर्णय गरेको छ । यस्तै मधेसको भावना, चाहाना र देशको रूपान्तरणमा उनीहरूको सपना बुझ्नका लागि माघको तेस्रो सातादेखि विशेष ‘मधेस मिसन’ सञ्चालन गर्ने भएको छ ।
बैठकले विदेशमा रहेका पार्टीका सद्भाव समूहका सदस्यहरूको पार्टी संगठनमा भूमिका र मताधिकारलाई सुनिश्चित गर्न स्पष्ट व्यवस्था गर्ने भएको छ साथै, विदेशमा रहेका सबै नेपालीहरूलाई राष्ट्रिय निर्वाचनमा मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयनमा ल्याउन दबाबका कार्यक्रम सञ्चालन गरिने पार्टीले जनाएको छ ।
पार्टीभित्र देखिएका असामान्य गतिविधिले पु¥याएको निरन्तरको गत्यावरोध र अराजकतालाई चिरेर पार्टीलाई आजको अवस्थामा ल्याउने नेपाल र नेपालबाहिर रहेका सम्पूर्ण शुभेच्छुक, सदस्य तथा नेतृत्वदायी अभियानकर्ताप्रति पार्टीले आभार प्रकट गरेको छ।
पार्टीले तात्कालिक एकजना संयोजकले नियोजित रुपमा पार्टी फुटाउन खोजेको आरोप लगाएको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘ सोही कारण केन्द्रीय समिति बैठकमा उपस्थित हुनुभन्दा पहिले नै नयाँ पार्टी दर्ता प्रक्रिया सुरु गरेका हुन् ।’
हालै पार्टीको केन्द्रीय समितिबाट बाहिरिएका केही सदस्यहरुले उत्पन्न गरेको अन्योल र सिर्जना गरेको भ्रमबारे केन्द्रीय समितिले संक्षिप्त र प्रारम्भिक समीक्षा गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुःखद घटनाका रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ ।’ यस्तै बैठकले सबै प्रदेश, जिल्ला तथा स्थानीय तहको नेतृत्व र संरचनामा कुनै प्रकारको उल्लेख्य असर नपरेको मूल्यांकन गरेको छ ।
यस्ता छन् निर्णयहरू :
विवेकशील साझा पार्टीको पूर्व निर्धारित केन्द्रिय समितिको बैठक यही पौष ३० र माघ १ गते पार्टीको मुख्यालय बखुण्डोलमा बस्यो। हालै पार्टीमा देखा परेका समस्या तथा त्यसको राजनीतिक र सांगठनिक समाधानको लागि केन्द्रीय समितिको बैठकले कैयौं महत्वपूर्ण तथा दुरगामी निर्णयहरु गरेको छ। पार्टीभित्र देखिएका असामान्य गतिविधिले पुर्याएको निरन्तरको गत्यावरोध र अराजकतालाई चिरेर पार्टीलाई आजको अवस्थामा ल्याइ पुर्याउने नेपाल र नेपाल बाहिर रहनुभएका सम्पूर्ण शुभेच्छुक, सदस्य तथा नेतृत्वदायी अभियानकर्ताहरुप्रति पार्टी हार्दिक आभार प्रकट गर्दछ।
हालै पार्टीको केन्द्रिय समितिबाट बाहिरिएका केही सदस्यहरुले उत्पन्न गरेको अन्योल र सिर्जना गरेको भ्रमबारे केन्द्रिय समितिले संक्षिप्त र प्रारम्भिक समीक्षा गरेको छ। पार्टीका तात्कालिक एकजना संयोजकले नियोजितरुपमा पार्टी फुटाउन खोजेको र सोही कारण केन्द्रिय समितिको बैठकमा उपस्थित हुनुभन्दा पहिले नै नयाँ पार्टी दर्ता प्रकृया शुरू गरेको देखिन्छ। यो केन्द्रिय समितिको बैठकमा पार्टीमा घटेका पछिल्ला घटनाहरु र अन्य समस्याहरुबारे छलफल गर्ने एजेण्डा पूर्वनिर्धारित थियो।
केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाको रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ। साथै हाम्रा सबै प्रदेश, जिल्ला तथा स्थानीय तहको नेतृत्व र संरचनामा कुनै प्रकारको उल्लेख्य असर नपरको मूल्यांकन पनि गरियो। तर पार्टीका मतदाता, शुभचिन्तक र शुभेच्छुकहरुमा भने केही अन्यौल उत्पन्न भएकोले त्यसलाई यथासिघ्र चिर्नको लागि पार्टीका विभिन्न तहमा विविध कार्यक्रमहरु सम्पन्न गर्ने निर्णय गरिएको छ।
१. आगामी २०७६ साल फागुन १५ गतेदेखि १९ सम्म काठमाडौंमा विवेकशील साझा पार्टीले भव्यताका साथ पहिलो महाधिवेशन गर्नेछ।
२. विदेशमा रहेका पार्टीका सद्भाव समूहका सदस्यहरूको पार्टी संगठनमा भूमिका र मताधिकारलाई सुनिश्चित गर्न स्पष्ट व्यवस्था गरिनेछ। साथै,विदेशमा रहेका सबै नेपालीहरूलाई राष्ट्रिय निर्वाचनमा मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयनमा ल्याउन दबाबका कार्यक्रम सञ्चालन गरिने छ।
३. पार्टीले प्रदेश नं १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ। र, अनिल भेटवाल पार्टीको विधान अनुसार पदेन केन्द्रिय सदस्य समेत हुनुभएको छ। (संक्षिप्त परिचय तल दिइएको छ)
४. पार्टीले केही महिनाअघि देशका सातै प्रदेशबाट प्रदेशको सिफारिशमा एकरएकजना महिला केन्द्रीय समितिमा चयन गर्न लिएको निर्णय अनुसार सुदूर पश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश नं ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा सामेल गरिएको छ। (संक्षिप्त परिचय तल दिइएको छ)
५. पार्टीमा युवा तथा महिला सहभागितालाई प्रबर्धन गर्न र तिव्रता दिन ’विवेकशील साझा युवा संगठन’ र ’विवेकशील साझा महिला संगठन’ गठन गर्ने र तिनको संयोजकमा क्रमश: पार्टीको केन्द्रीय सदस्य अब्दुस मियाँ तथा पार्टीकी केन्द्रीय सदस्य सोभिता परियारलाई जिम्मेवारी दिने निर्णय गरेको छ। पार्टीले पेशागत र व्यावसायीक भातृ संगठन भने निर्माण नगर्ने प्रतिबद्धतामा पुन जोड दिएको छ।
६. पार्टीमा देखापरेका पछिल्ला चुनौतिहरु र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ १२ गते काठमाडौंमा देशभरीका पार्टी प्रतिनिधि सदस्यहरु सहित “विवेकशील साझा राष्ट्रिय सन्देश भेला”को आयोजना गर्ने निर्णय गरेको छ। साथै माघ १३ गते राष्ट्रिय सभागृहमा ‘विवेकशील साझा: अबको बाटो’ शीर्षकमा सार्वजनिक कार्यक्रमको आयोजना गरिने छ।
७. पार्टीका केन्द्रिय विभागहरुको पुर्नगठन र जिम्मेवारीको वाँडफाँड गरिएको छ, जसअनुसार कोष संकलन (डा उमेद पुन), संगठन (मुमाराम खनाल),अभियान (किशोर थापा), नीति तथा कार्यक्रम (डा सूर्यराज आचार्य), प्रशिक्षण (केशव दाहाल), सञ्चार (किरणकृष्ण श्रेष्ठ), सामाजिक न्याय तथा समावेशिता (प्रकाशचन्द्र परियार), कानून (निरूपमा यादव), उद्यमशीलता (रमेश महर्जन), तथ्यांक (राम साह), केन्द्रीय कार्यालय (मानवी पौडेल) तथा विदेश विभाग (रवीन्द्र मिश्र) ले सम्हाल्ने छन्।
८. पार्टीले केही महिनाअघि शुरू गरेर बीचमा अवरूद्ध भएको संगठन विस्तार तथा प्रशिक्षण अभियानलाई पुन जिल्ला स्तरबाट क्रमशः स्थानीय तहसम्म पुर्याउने छ।
९. पार्टीले मधेशको भावना, चाहाना र देशको रूपान्तरणमा उनीहरूको सपना बुझ्नका लागि माघको तेश्रो हप्तादेखि विशेष ‘मधेस मिसन’ सञ्चालन गर्नेछ।
केन्द्रीय नेतृत्वमा जोडिएका नयाँ साथी तथा आंगिक संगठनका नेतृत्वकर्ताहरूको संक्षिप्त परिचय:
अनिल भेटवाल, संयोजक, प्रदेश नं १:
सन् १९९० ताका राजनीति गरेर पछि राजनीति त्यागेका भेटवाल सन् १९९५ मा सबैभन्दा कम उमेर (२९ वर्ष) मा नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष बन्नुभएको थियो। हाल पनि उहाँ जेसिसको देशव्यापी प्रशिक्षक भएका कारण प्रदेश १ का सबै जिल्लाहरूमा उहाँको परिचयको राम्रो सञ्जाल छ। झण्डै ६ वर्ष सपरिवार अमेरिका बसेर सन् २००८ मा सधैंको लागि नेपाल फिर्ता आउनुभएका भेटवाल झापाका एकजना उद्यमी पनि हुनुहुन्छ।
सुशिला केसी अधिकारी (गण्डकी प्रदेश), केन्द्रीय सदस्य
अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएकी अधिकारी पोखराको पिनाकीन होटलको संचालक तथा निर्देशक, एउटा बोर्डिङ्ग स्कुलको संस्थापक निर्देशक, पौलिनी कृषी फार्म (चितवन) को संचालक, लायन्स क्लब अफ सेती गण्डकी, पोखरा, तथा सामिप्य समाज नेपालकी पूर्व अध्यक्ष हुनुहुन्छ।
सरस्वती पन्थी भुसाल (प्रदेश ५), केन्द्रीय सदस्य
भुसाल बुटवलस्थित गुरास अस्पतालकी अध्यक्ष, मलिका होमियोप्याथिक अस्पतालकी व्यवस्थापक निर्देशक तथा मनिउजेस बुटवल लायन्स क्लबको उपाध्यक्ष हुनुहुन्छ। उहाँ प्रदेश ५ बाट विवेकशील साझाकी समानुपातिक उमेदवार पनि हुनुहुन्थ्यो। उहाँको खासगरी स्वास्थ्य सेवासँग सम्वन्धित परोपकारी गतिविधिमा विशेष रूची छ।
शैलु श्रेष्ठ (सुदूर पश्चीम प्रदेश), केन्द्रीय सदस्य
एयर राइफल शुटिङ्गमा नेपालको अन्तराष्ट्रि प्रतिनिधित्व गर्नुभएकी पूर्व राष्ट्रिय खेलाडी, कैलाली उद्योग वाणिज्य संघकी पहिलो महिला सदस्य,पूर्व शिक्षिका, नेवास् देय् दबुको जिल्ला कोषाध्यक्ष तथा महिला उद्यम प्रशिक्षक श्रेष्ठ विवेकशील साझा पार्टी, कैलालीकी एकजना नेता पनि हुनुहुन्छ।
सोभिता परियार, संयोजक, विवेकशील साझा महिला संगठन:
पार्टीकी केन्द्रीय सदस्य तथा देशभरी महिला सशक्तिकरण, सुशासन र जवाफदेहिताका क्षेत्रमा प्रशिक्षकका रूपमा काम गर्नुभएकी सोभिता परियारले देशको लगभग सबै जिल्लामा समुदायमैं बसेर काम गर्नुभएको छ। बन तथा बातावरण विज्ञानमा स्नातकोत्तर परियारले विपन्न समुदायमा पुर्याएको योगदानका लागि डाक्टर अब्बेदकर सेवाश्री पुरस्कार प्राप्त गर्नुभएको छ।
अब्दुस मिया, संयोजक, विवेकशील साझा युवा संगठन:
पार्टीका केन्द्रीय सदस्य, युवा उद्यमी, परचित उत्प्रेरक २५ वर्षीय अब्दुस मिया राजनीति शुरू गर्नुअघि युवाहरूको संगठन युथ इनिशिएटिभका निर्वा्चित अध्यक्ष हुनुहुन्थ्यो। उहाँले शुरू गर्नुभएको लिडरशिप कर्नर तथा ओरेटर्स हाउस युवाहरुमाझ लोकप्रिय छ। नेपाल तथा विदेशका कयौं युवा सम्मेलनमा प्रमुख वक्ता बनिसकेका मियालाई धेरै युवाहरू प्रेरणाका रूपमा हेर्ने गर्दछन्।
प्रवक्ता
डा सूर्यराज आचार्य
विवेकशील साझा पार्टी
०१ माघ २०७५
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४