धनगढी – धनगढीको जलशा होटलमा कामदारबीच सामान्य विवाद हुँदा एक युवक अपहरणमा परेका छन्। अपहरणकारीले उनलाई मोटरसाइकलमा राखेर अपहरण गरी मोहना नदीतर्फ लगेका थिए।
जलशा होटलको रेस्टुरेन्टमा काम गर्ने २० वर्षीय चक्र खड्का र १९ वर्षीय वसन्त भाटबीच सामान्य विवाद भएको थियो। विवाद बढेपछि खड्काले साथीहरु बोलाएर भाटलाई मोटरसाइकलमा राखी मोहना नदीतर्फ लैजाँदै गर्दा प्रहरीले उद्धार गरेको छ। घटना बिहान करिब ९ बजेतिरको हो। खड्काले चारपाँच जना साथी बोलाएर आफूलाई मार्छु भन्दै मोटरसाइकलमा जबरजस्ती राखेर मोहनातर्फ लगेको भाटले बताए।
कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक गोविन्द खड्काले भाटको अपहरणमा संलग्न चक्र खड्का, धनगढी–२ का १९ वर्षीय हर्केश बाग र १९ वर्षीय कुन्दन जोशीलाई पक्राउ गरेको जानकारी दिए। साथै अपहरणमा प्रयोग भएको से७प ३४४५ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। अपहरणमा संलग्न अन्यको खोजी कार्य जारी रहेको खड्काले जानकारी दिए।
वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले भाटको मोवाईलमा फोन गर्दा अपहरणकारीले नै उठाएर हामी मारेर खाल्डोमा गाड्ने तयारीमा छौ भनेका थिए। सिंहले तिमिहरु कोहौ र कति नम्बरको मोटरसाईकल चलाएका छौ त्यो सब थाहा छ म गोली हानेर उडाउछु भनेर डर देखाएपछि उनीहरु भागेको बुझिएको छ। अपहरणमा संलग्न एक जना अझै फरार छन्।
भाटको बयान
खड्काले ग्राहकबाट अर्डर टिपेर भान्छामा मलाई बुझाए। उनले लेखेको अक्षर मैले नबुझेपछि आफूभन्दा माथिल्लो तहमा काम गर्ने दाइलाई देखाए। दाइले खड्कालाई बुझिने गरी अक्षर लेख्न भनेर सम्झाए। अक्षर नबुझेको कुरा किन दाइलाई भनेको भन्दै खडकाले मलाई गाली गरे। मैले पनि उनलाई गाली गरें। तँलाई होटल बाहिर जानेबित्तिकै देखाइदिन्छु भन्दै खड्काले मलाई धम्क्याए। मैले पनि के गर्छौ र हेरौँला भनें। केहीबेरमा भाटले मलाई होटलको तल बोलाए। म पनि केही काम होला भनेर तल झरें।
मोटरसाइकलमा बस बाहिर जाऔं भने पछि मैले डिउटी छ जान्नँ भने। उनीहरुले मलाई जबरजस्ती उठाएर मोटरसाइकलमा राखेर सन्तोषीटोल हुँदै मोहना लगे। कुटपिटसमेत गरे। मोहना पुगेलगत्तै मलाई होटलबाट दाइले फोन गरेर कता हो छिटो रेस्टुरेन्टमा आऊ भन्नुभयो। मैले मोहना ल्याए भनें। अनि दाइले प्रहरीलाई खबर गर्छौं भनेपछि केटाहरु भागे। म हिँडेर फर्कंदै थिएँ, बाटोमा प्रहरी टोलीले भेट्टायो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४