जनकपुर- संघीयता कार्यान्वयन भइ प्रदेश सरकार गठन भएको एक वर्ष पुग्न अझै एक महिना बाँकी छ । पछिल्लो ११ महिनाको घटनाक्रम हेर्ने हो भने प्रदेश २ का मन्त्री र केहि सांसदको विवादस्पद क्रियाकलाप र अभिव्यक्तिले प्रदेशको साख डुब्ने खतरा बढेको छ ।
पछिल्लो पटक प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव वन मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको घटनपछि विवादमा मुछिएका छन् । गरिबी निवारण कोषअन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि मन्त्री यादवले सिफारिस गरेको एक एनजीओ नपरेपछि सचिव झालाई कुटपिट गरेको आरोप लागेको छ ।
एकजना राष्ट्रसेवक कर्मचारीलाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेको घटनाले मन्त्री र प्रदेश सरकारको साखमाथि प्रश्नचिन्ह खडा गरेको छ । कार्यक्रम पार्ने गरी मन्त्री यादवले एनजीओसँग पाँच लाख रुपैयाँ लिएको तर छनौट नभएपछि आफूमाथि कुटपिट गरेको सचिव झाको दाबी छ ।
यद्यपी मन्त्री यादवले भने आफूले सचिवलाई कुटपिट नगरेको दाबी गरेका छन् । उनले कुटेको भए प्रमाण पेस गर्नसमेत चुनौती दिएका छन् ।
सचिव कुटेपछि मन्त्री विवादमा आएको यो पहिलो घटना भने होइन । प्रदेश २ का अन्य मन्त्रीहरु पनि विभिन्न काण्डका कारण बेला बेला विवादमा आइरहेका छन् । सचिव कुटपिट घटना भन्दा केहि दिनअघि मात्र प्रदेश सरकारका अर्का एकमन्त्रीले पत्रकार कुट्ने धम्की दिएर बद्नामी कमाएका थिए । ती मन्त्री हुन् प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवल किशोर साह ।
जनकपुरमै घर भएका सांसदहरुले पनि घरभाडाको सुविधा लिइरहेको भन्दै समाचार लेख्ने पत्रकारलाई चप्पलले कुट्नुपर्ने मन्त्री साहले सप्तरीमा केहि पत्रकार सामु बोलेका थिए । मन्त्री साहले पत्रकारविरुद्ध यस्तो अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना भएको थियो ।
सामाजिक सञ्जालमा समेत कडा विरोध हुन थालेपछि मन्त्री साहले विज्ञप्ती जारी गरेर भनेका थिए,‘मैले बोलेको शब्द जस्ताको त्यस्तै फिर्ता लिएको छु ।’ मन्त्री साहले जारी गरेको विज्ञप्तीबाट उनले पत्रकारविरुद्ध अपशब्द प्रयोग गरेको पुष्टि भएको थियो । यद्यपी मन्त्री साहले भने आफ्नो त्रुटीपूर्ण अभिव्यक्तिका लागि माफी मागेनन् ।
मन्त्रीजस्तो सम्मानित पदमा बसेका व्यक्तिले मुलुकको चौथो अंग भनिएका पत्रकारहरुलाई लक्षित गरी अपशब्द प्रयोग गरेको स्वीकारे पनि मुख्यमन्त्री राउतले भने उनलाई कारबाही गर्ने हिम्मत देखाउन सकेनन् ।
यसैगरी मन्त्री आफै धर्नामा बसेको घटनाले समेत चर्चा बटुलेको थियो । प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक विदा वित्तिय संस्थाहरुले मान्न अस्वीकार गरेपछि प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव जनकपुरस्थि राष्ट्र बैंक कार्यालय सामुन्ने धर्ना बसे ।
मन्त्री यादव आफै धर्नामा बसेपनि कार्यालय भने बन्द भएन् । मन्त्रीको काम निती निर्माण र निर्देशन दिनुपर्ने भएपनि उनी आफै धर्ना बसेर सस्तो लोकप्रियता बटुल्ने काममात्र गरेको भन्दै प्रदेशमा आलोचना भएको थियो ।
यता तत्कालीन एमालेका एक प्रदेश सांसदले संसदीय दलको कार्यालयभित्रै संसदीय दलका नेतालाई थप्पड हानेको घटनाले समेत प्रदेशको साख खसाउने काम गरेको थियो । एमाले सांसद मञ्जु यादवले संदसदीय दलको कार्यालयभित्रै विवाद हुँदा संसदीय दलका नेता सत्यनारायण मण्डललाई थप्पडले हानेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४