चितवन- पवीत्र तीर्थस्थल देवघाटधामको वेणीमा माघे सङ्क्रान्ति मेला भर्नेहरुको भिड लागेको छ।
पुस ३० देखि सुरुभएको मेला भोलि माघ २ गतेसम्म चल्ने छ । मेलामा चितवन, नवलपरासीलगायतका जिल्लाका स्थानीयको भिड लागेको छ । मेला भर्न आइतबारदेखि नै नेपाल तथा छिमेकी देश भारतका विभिन्न क्षेत्रबाट भक्तजन आएका छन् ।
देवघाटमा माघ महीनाभर मकर स्नानका लागि श्रद्धालुहरु देवघाट आउने गर्दछन् । यसवर्ष पाँच लाखभन्दा बढी भक्तजन देवघाट आउने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेको छ ।
सोही अनुसार सुरक्षा, यातायात, शौचालयलगायतको व्यवस्थापन गरिएको समितिले जनाएकाे छ । मेला अवधीभर नदी वारपारका लागि ३० वटाभन्दा बढी डुङ्गाको व्यवस्था गरिएको छ ।
ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशी (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४