माघे संक्रान्ति मनाउन बजारबाट किनमेल गरेर फर्किँदै स्थानीय।
धनगढी- माघी अर्थात् चेली तिहारको रौनकले सुदुरपश्चिम प्रदेशलाई छपक्कै छोपेको छ । हिमाल, पहाड र तराई तीनवटै भूगोलमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरुमा माघी तिहारको रौनकले उल्लास भरिएको छ ।
वर्षको एकपटक छोरी चेलीलाई अनिवार्य रुपमा तिहार दिने प्रचलन रहेकाले माघी तिहारलाई चेली तिहार भन्ने गरिएको हो। पहाडी समुदायको साथसाथै तराईका थारू समुदायले माघी तिहारलाई सबैभन्दा महत्त्वपूर्ण चाडका रुपमा मनाउने गर्दछन्। पहाडी समुदायमा माघीको अघिल्लो दिन टोलटोलमा ठूलठूला काठमा मुडा एकै ठाउँमा जम्मा गरेर मध्यरातमा आगो बाल्ने प्रचलन छ।
माघी तिहारको दिन छोरीचेली माइती घरमा आउने गर्दछन्। माइती घरमै उपस्थित हुन सक्ने छोरी चेली तिहार खाएरै जाने गर्छन् भने माइती घरमा उपस्थित हुन नसक्ने छोरीचेलीको घरमै गएर माइतीले माघ महिनाभर अनिवार्य रुपमा तिहार पुर्याउनुपर्ने चलन छ। माघ महिनाभर यहाँका गाउँगाउँमा छोरी चेलीलाई तिहार पुर्याउन आउने जानेको उपस्थिति बाक्लो देखिने गर्दछ।
पहिलेका मानिसले सेल पुरी (स्थानीय भाषामा बाबर, लाउन) दिने गरिएको भए पनि नयाँ पुस्ताका मानिसले समय परिस्थितिसँगै विभिन्न प्रकारका मिठाईलगायतका खानेकुरा पनि दिने गरेको पाइन्छ। चेली तिहारको अर्को महत्त्वपूर्ण प्रचलन भनेको माघमा छोरीचेलीलाई हरियो पात देखाउने पनि हो। छोरी चेलीलाई दिइने कोसेली हरियो पात अर्थात् त्यसमा पनि सालको पातमा बेरेर दिने प्रचलन छ। हरियो पात पूर्णको प्रतीक भएकाले माघको महिना धर्मअनुसार हरियो पात देखाउने प्रचलन हिन्दु धर्ममा परम्परादेखि चलिआएको सहदेव रेग्मीले बताए।
माघको महिनामा सूर्य दक्षिण दिशाबाट उत्तर दिशातर्फ लाग्ने भएकाले माघी तिहारलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ। माघको महिना धर्मकर्म गर्नका लागि सबैभन्दा राम्रो महिना भएकाले पनि छोरी चेलीलाई तिहार दिएर सम्झिने प्रचलन हिन्दु धर्ममा रहेको रेग्मीले जानकारी दिए।
हिन्दु धर्मका अन्य विभिन्न प्रचलनको बिस्तारै महत्त्व घट्दै गए पनि माघी तिहारको महत्त्व पहिलेको भन्दा झन् बढ्दै गएको अनुभव रेग्मीको छ। बिहे गरेर पराईको घरमा गइसकेकी छोरी चेलीसँग सधैँ भेटघाट नहुने भएकाले वर्षमा एकपटक माघको महिना अनिवार्य रुपमा भेट हुने हुँदा आमाबाबु र छोरीचेलीबीचको प्रेम सम्बन्ध पनि प्रगाढ बनाउन माघी तिहारको महत्त्व विशेष खालको छ।
माइती घरमा बाबुआमा र दाइभाइ नहुने छोरी चेलीलाई छिमेकीले पनि तिहार दिने प्रचलन छ। गाउँका अरु जेठानी देउरानीको माइतीबाट तिहार आउँदा माइतीमा आमाबुबा र दाइभाइ नहुनेलाई नराम्रो महसुस नहोस् भनेर छिमेकीले पनि तिहार दिने गरेको भनाइ रेग्मीको छ।
माघी तिहार एक महिनासम्म मनाउने गरिएकाले सेल पुरी पकाउन चाहिने तेलको व्यवस्था गर्नका लागि तोरी पेल्न यो बेला गाउँका मिल तथा कोलमा निकै भीड लाग्ने गर्दछ। तरुल, सकरखण्ड आफ्नै बारीमा लगाएकाहरुले माघ महिनामै कोरेर खाने र आफ्नो बारीमा नहुनेले जंगलमा गएर पनि बन तरुल कोरेर खाने प्रचलन छ।
थारू समुदायको महान् चाड
माघे सक्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन चौधरी समुदायको घरघरमा सुँगुर काट्ने चलन छ, जसलाई ‘जिता मरना दिन’ भनिन्छ। पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँडरक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ। यतिबेला सखियै हो, माघिक पिली गुरी जाँर’भन्ने गीत सबैको मुखमा झुन्डिएको हुन्छ। माघीमा गाइने गीतलाई ‘धमार’ भनिन्छ।
माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ। माघे संक्रान्तिको दिन बिहान सबैजना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ। यसलाई ‘माघ लहान’ भन्ने गरिन्छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ। माघको दोस्रो दिन खिचडी बनाई खाने चलन छ। यो दिनलाई ’खिचरहवा’ भनिन्छ।
छोरीचेलीलाई उपहार
माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ। यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ। माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप चेलीबेटीलाई उपहार दिइन्छ। माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किने बेला निसराउ लिएर जान्छन्।
सम्बन्ध प्रगाढ बनाउने दिन
माघीको दिन नुहाएर दाल, चामल छोइसकेपछि मान्यजनसँग ढोगभेट गरी आशीर्वाद लिने प्रचलन छ। यसलाई सेवाढोग वा सेवा सलाम लग्ना भनिन्छ। यो प्रक्रिया घरबाट सुरु भई गाउँभरि नै गएर सेवासलाम लिनेदिने र खानपिन गर्ने प्रचलन छ। जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामका लागि पस्नुपर्ने हुन्छ।
मन मिल्नेहरू समूहमा आबद्ध भई सेवासलाम लाग्दछन्। यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ। कसैसँग रिसइबी छ भने माघी नुहाएर, एकआपसमा अंकमाल गरी मेलमिलाप गरिन्छ। त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनका रूपमा पनि लिइन्छ।
नयाँ आर्थिक वर्ष
माघी पर्वलाई नयाँ वर्षका रूपमा पनि लिने गरिन्छ। पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने प्रचलन छ। माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीलगायत अन्य व्यवहारको नवीकरण गरिन्छ।
घरसल्लाह गर्ने पर्व
माघीमै थारू समुदायमा आफ्नो घरसल्लाह गर्ने प्रचलन रहेको छ। माघीमा भाइभाइ एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गरिन्छ। घर सल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरको मूलीको बन्नेजस्ता कुराको छलफल हुन्छ। घरपरिवारभित्र जिम्मेवारी पाएका सदस्यले माघीमा स्वतन्त्र भएर हेरफेर गर्न सक्छन्। जस्तै गरढु (घरमुली बन्ने) गर्ने, ‘बहरिया’ (घरबाहिरको कामको जिम्मेवारी) आदि कामको जिम्मेवारी परिवर्तन माघीमै गर्ने गरिन्छ। यही बेला घरमा मिलेर बस्ने या छुट्टिने कुराको समेत सल्लाह हुन्छ।
भाइभाइमा मन नमिले माघीमै अशंबण्डा गरिन्छ। यसलाई घर फुटाइ पनि भनिन्छ। अंशबण्डामा कुनै भाइलाई मर्का नपरोस् भन्ने उद्देश्यले गाउँका पञ्चभलाद्मी, महटाँवा, बरघरहरूलाई मध्यस्थकर्ताका रूपमा बोलाइएको हुन्छ।
अगुवा चुन्ने काम
गाउँको विकास कसरी गर्ने भन्ने सवालमा माघको पहिलो साताभित्रै बैठक बसेर सामूहिक रूपमा गत वर्षको कामकारबाहीबारे छलफल गरिन्छ। वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई ‘भुरा खेल (ख्याला)’ भनिन्छ। बैठक गाउँको अगुवाको घरमा बस्छ। अगुवालाई ठाउँविशेषअनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा पनि भनिन्छ। बैठकमा गत वर्षमा भएगरिएका कुलापानी, धार्मिक पूजापाठलगायत विकासको कामको समीक्षा हुन्छ।
आगामी वर्षका लागि उही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने विषयमा छलफल हुन्छ। सोही बैठकले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनोट गर्छ। यही बैठकले गाउँलाई अनुशासित बनाउन नयाँ नियमकानुन पनि बनाउँछ।
नियम उल्लङ्घन गर्नेलाई बरघरको अध्यक्षतामा बसेको बैठकले जरिबाना तोक्छ। बरघरको महादेवलाई दृष्टिगत गर्दै विगत केही वर्षयता जिल्ला बरघर समिति पनि गठन हुन थालेको छ। यसरी लोकतान्त्रिक ढंगले थारू समुदायमा अगुवा चुन्ने काम माघीमै गरिन्छ।
माघी पर्व पहिले खासगरी पश्चिम भेगको थारू गाउँघरमा मात्र सीमित थियो। राजधानीमा बसोबास गर्ने थारूहरूले विगत सात वर्षदेखि माघी महोत्सवको आयोजना गर्न थालेका हुन्। विशेष गरी २०५९ सालमा सरकारले माघीमा सार्वजनिक बिदाको व्यवस्था गरेपछि थरूहट सबै क्षेत्रमा महोत्सवका रूपमा मनाउन थालिएको हो। माघी महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकार घोंघी, ढिक्रीलगायत फुड फेस्टिबल एवं सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ।
तीन दिन बिदा माग
थारू कल्याणकारिणी सभा र थारू नागरिक समाज कैलालीले माघीमा सरकारले एक दिन मात्रै बिदा दिएकोमा असन्तुष्टि जनाउँदै तीन दिन बिदा दिन प्रदेश सरकारसँग माग गरेको छन्। सभा र समाजले संयुक्त प्रेस विज्ञप्ति जारी गरी थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीमा पुस ३०, माघ १ र २ गते सार्वजनिक बिदा दिन माग गरेको हो।
सभाका कार्यवाहक सभापति माधव चौधरी र समाजका संयोजक दिलबहादुर चौधरीले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकारले माघीमा एक दिन मात्रै बिदा दिएकोमा विरोध जनाइएको छ। विज्ञप्तिमा नेपालको संविधान २०७२ ले गरेको व्यवस्था पूर्ण रुपमा प्रदेश सरकारले पालना नगरी जातीय, क्षेत्रीय विभेदलाई संरक्षण गरेको आरोप लगाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४